पोतेर कमेरोले चिटिक्क
बान्की परेको टाटीको भित्तो
हालेर रातो माटोको किनारा
सिकुवामा बिछ्छाई, मान्द्रा र राडी
जब, थापिन्थ्यो झण्डीमा एक
मुन्डीमा एक, बुर्जामा एक
अनि पो हुन्थ्यो खुशीको वर्षा
अनि पो आउँथ्यो मज्जाको दशैं !
जुवाको ठूलो खालमा
जितौरी थाप् नानी भनेपछि
चियाका कप बटुल्दै
दाजुको हातैबाट सयको नोट
तान्दा,
अनि पो थपिन्थ्यो अर्को उल्लास
हो , नि अब त दशैं पो आयो !
जब, लिंङ्गा गाड्न र डोरी बाट्न
बाँस र पटुवा उठाउँदै हिंडथ्ये गाउँले दाइहरू
काम्रो काट्न तम्सिन्थ्यें साना भाइहरू
दर्जी दाइको लुगाले उरूङ् हुन्थ्यो टेलर
“बालीको लुगा पहिले है , कान्छीनानी”
जब सुनिन्थ्यो , मधुर बोली
अनि, पो आउँथ्यो भब्य दशैं !
जब साटिन्थ्ये नौतन नोटहरू
एक, पाँच, दश, पचास अनि सय गरेर
कुटुम्ब र भान्जाभान्जीलाई भन्दै खाममा खुसुक्क चेप्ट्याएका
सुटुक्क , चियाएर पिलपिल गर्दै
“मलाई चैं “ भन्दा आमाले थपिदिएको ‘पाँच’
अनि पो हुन्थ्यों सन्तुष्ट दसैं !
दर्जी दाइले सिलाएको
गुलाबी जामा र हटियाबाट किनेको नयाँ चप्पल
निधारभरि टीका र कपालभरि जमरा
काकी, माइजू, भाउजू, बढिआमा,फूपु
सानिमा, अन्तरे बा, ठूलाकान्छा बा
हर घर , टीका लगाउँदै डुल्दाको मज्जा
अनि , पो हुन्थ्यो स्वर्गीय दशैं !
घिम्रिनी दिदीलाई परेको जूठो
आँफैलाई परेझैं सुर्ताएको
टीका थाप्न नपाएर आँशु खसाएर रोएको
एक रूपिंयाको मोहमा जीवन रमाएको
आहा, त्यो पो थियो अमुल्य दशैं !
आँगनमा गोबर र रातो माटोले लिपेर
जव, घिरौंलो , कुभिन्डो छप्काईन्थ्यो
अनि आँउथ्यो लामकानेको पालो
पर्सिएर , हतियार पूजेपछि
कान थुन्दै घरपछाडी लुकेको
आहा , त्यो पो थियो स्वदिष्ट दसैं !
खड्कुलो भरि धान उसिनेर
कुनै चिसो पानीमा
तीनदिन भिजाएर
च्युरा कुट्न छिमेकि दिदीहरू आउँदा
ढिकी च्याउँ ,ढिकी च्याँउ को आवाजसँगै
आउने मीठो चिउराको सुवास
आहा ! त्यो पो थियो सुवासिलो दशैं !
प्रतिक्रिया