बल्छी काइँलाकाे महानिर्वाण -जगन्नाथ पाैडेल

जगन्नाथ पाैडेल भर्जिनिया अमेरिका २०७७ असोज १७ गते १०:५७ मा प्रकाशित

खण्ड: १

काइँलासँग आँखैआँखा भएकाेएउटा सिङ्गो झाेला छपिठ्युँमा भिर्नलाई

थुप्रै बासी परेका भाेकहरू छन्

झाेलामा साँच्नलाई

त्यसैले अक्सर झाेला डुङ्ङ गनाउँछ पिठ्युँमा

काइँलासँग

चन्द्रमैचन्द्रमा भएकाे

राष्ट्रिय ढाका टाेपी पनि छ

जहाँबाट निर्बाध छिर्न सक्छन्

घामका लप्का र

हावाका सिरेटोहरू

ढाका टाेपी भएकैले हाेला

नागरिकता पनि कहिल्यै याद भएन उसलाई

सायद

नागरिकतासँग त्यतिबिघ्न चिनापर्ची पनि छैन उसकाे

खुर्पेटाेसँगै भिरेकाे एउटा थैली पनि छ ऊसँग

थैलीमा साइँलीका हातमा चुरा लगाइदिन साँचेका पुराना ढ्याकहरू छन्

ढ्याकहरू थैलीभित्रै थन्थनाउँछन्

गणतन्त्र दिवस टाँगिएकाे दुईपाते क्यालेन्डरजस्तै

काइँली विवाह गर्दा आधा बीस उमेरकी थिई

एक बीस हुने बेला उसमा राताे चुरा लगाएर

तीजमा नाच्ने धाेकाे पलाएकाे थियाे

अहिले दुई बीस हुँदा सबै धाेकाले बिर्सेर गएछन्

तर पत्ताे नै छैन उसलाई

फगत काइँलाे कहिल्यै बिर्संदैन राता चुरा लगाउने काइँलीका सपना

बस् पर्खिरहन्छ दुई ढ्याकहरू थैलीमा छिराउने कुनै अज्ञात दिनकाे मुहूर्त

 

बाउले जिउनीमा दिएकाे भिर्ने भाङ्ग्रा पनि छ काइँलासँग

भाङ्ग्रा त्यति गह्राैं हाेइन तर किनकिन असाध्य भारी लाग्छ उसलाई

त्याे पूरा आङ ढाक्न नसक्ने ठाँडो

छाेराकाे खेलाैना बाेकाैंला भन्दाभन्दै नाति हलाे समउने भैसक्याे

तर

भाङ्ग्रामा कहिल्यै अटाएन नाथे खेलाैना

ऊ खाेला पस्छ परिवारका भाेकहरू बाेकेर

ऊ घर फर्किन्छ आफ्ना भाेकहरू बिर्सेर

माछाले जस्तै छक्याउँछन् उसलाई

बग्दै गरेका समयका बेगहरूले

खुसी के हाे कहिल्यै बुझेन उसले

खाेलामा सुन पनि पाइन्छ भन्थे

तर कहिल्यै फुर्सद पाएन उसले

सुखका लागि सुन खाेज्नलाई

भाेकैभाेककाे चस्माले खुट्टाउनै दिएन

सुनका मूल्यवान् रङहरू

खाेला सधैं बगिरह्याे

खाेला खाेलामात्र बगेन

उमेर बग्याे

सपना बग्याे

चुरा बग्याे

खेलाैना बग्याे

एक दिन

अचानककाे भेलमा

बर्साैं मितेरी गरेकाे काइँलाकाे भाङ्ग्रा बग्याे

भाङ्ग्रासँगै काइँलाकाे ख्याउटे अनुहार पनि बगेर गयाे

अब सधैंझैं

मध्य दिनमा खाेलाकाे पानीभित्र हल्लिरहने घामले

कहिल्यै नदेख्ने भयाे

काइँलाकाे ख्याउटे अनुहार ।

खण्ड : २

बल्छी काइँलाकाे

घरभन्दा निकै टाढा

मान्छेजस्तै मान्छेहरू

गाइरहेका थिए कुनै तन्त्रकाे गीत

…तन्त्र जिन्दावाद…

…तन्त्र मुर्दावाद …

बस खाेलाकाे एकतमास बहाबले

सुसेलिरहेकाे थियाे…

काइँलाकाे विछाडकाे गीत

खण्ड: ३

तेह्राैं तिथिकाे अपुण्य दिन

भाेकाे थालसँग

एउटा अर्काे गीत गुन्जिरहेकाे थियाे

बिरानी गायिका साइँलीकाे आवाजमा-

कुनै दिन मिठाे नि खुवाएन

कुनै साँझ हाँस्न नि भ्याएन

मेराे जीवन यस्तै यस्तै गयाे

नामर्द त्याे दिन छँदै अस्तायाे

खण्ड: ४

एकान्त कुनाले दुई कलिला मुनालाई च्यापेर

शाेक फुलाउँदै थियाे:

मुना नं. १ (छाेरी)

बा कैल्यै पेटभरी खाएनाै

बिश्राम गर्न कैल्यै नि भ्याएनाै

आफ्नाे लागि कुनै पल साेचेनाै

आमाका चुरा भन्दै एक निद नि सुतेनाै

अब तिम्लाई कसरी पाउँला

भाेक लाग्दा काेसँग राेउँला

मुना नं. २ (छाेरा)

बाले मलाई एक्लै पाे बनायाै

छिडी हाम्राे शून्य नै बनायाै

मेरा हातले तिम्लाई नै बाेलाउँछन्

बाटाे हेर्दै आँखा नि टाेलाउँछन्

बटुवामा तिम्रै रूप देखेछु

बाबा भन्दै आँसुले लेखेछु

किन आउन्नाै मछली लिएर

बाबु… भन्दै एक हात दिएर

म त बरु क्यै पनि माग्दिनँ

बाबा आउनु झगडा नि गर्दिनँ

नखाएरै बस्छु बरु आउन मेरा बाबा

बाबासँग हिन्छन् साथी म त कता जाउँला ….

खण्ड: ५

माथि आकाशमा काइँलाे :

म त देख्छु साइँलीका हात खाली

माफी दिनु बुझेर यसपालि

अर्काे जन्म अमिर भै जन्मुला

राम्रा चुरी अवश्य बनाउँला

दुईचार ढ्याक घैंटीमा राख्याछु

सानाे ठेकी गुन्द्रुक नि खाँद्याछु

दाल तिम्ले झानेरै खानू है

मेला पस्दा सातु नि लानू है

यस जन्ममा यस्तै नै भयाे नि

निष्ठुरीले छलेर ल्यायाे नि

ती काेपिला कसरी फुलाउली

आफ्नाे मन कसरी बुझाउली …

( नदीछेउमा एउटा दु:खद नाटककाे अन्त्य हुन्छ, पर्दाबिना तर हेरिदिने बुझिदिने दर्शककाे अभाव हुन्छ ।)

भर्जिनिया अमेरिका

 

प्रतिक्रिया