विन्ति आफू पनि बाँच र अरूलाई पनि बाँच्न देउ

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,अमेरिका । २०७७ भदौ १५ गते २१:०८ मा प्रकाशित

जीवनको जोड घटाउमा अक्सर
जोडमै फलाङ्ग मार्न खोज्ने ए, मान्छे
जीवनको अकाट्य सत्यलाई दुत्कारेर भाग्छौ कहाँ
मानवताको उर्वरामा घृणाको झार फैलाउछौ किन?
मै खाउ मै लाउ सुख सयल वा मोज
मै गरू भन्ने भावले
बुद्धको पुण्य भूमिलाई मैलाउछौ किन ?
म देखिरहेकी छु,
हराउदै गइरहेको मान्छे भित्रको मान्छे ।।
मानव धर्म, मानव कल्याणमा
दया र करुणाको खडेरी ।।
मान्छे भित्रको दरिद्र सोचाई भित्र
मौलाई रहेको दारुणताको चित्र
सुनिरहेछु मनभित्र हजारौं प्रश्नका खातहरू
तछाड मछाड गरि गुम्सिएका अनुत्तरित बातहरू
सोध्न व्याकुल बनिरहेछ मन मान्छेसंग
ए मान्छेहरू हो,
तिमीहरू लाई बचाउन ज्यान हत्केलामा थाप्नेहरू
कहाँ बिलाए तिमीहरूको स्वार्थभित्र?
आफ्ना परिवारका खुसी विर्सेर
तिमीहरूको परिवारका खुसीमा हाँस्नेहरू
कता हराए क्रूर निठुरताभित्र?
तिमी रोगले थालिदा घाउमा मलम घस्नेहरू
तिम्रै सेवामा रातदिन नभनी घुँडा धस्नेहरू
तिम्रा छटपटिमा सान्त्वनाका भरोसा छर्नेहरू
अनि,
तिमीलाई दुख्दा सुम्सुमाएर तिम्रै समीपमा बस्नेहरू
किन पराई भए तिम्रा मानसपटल बाट?
किन निकालिए तिम्रै घरबाट ?
अनि, मनबाट?
यो यथार्थ किन भुल्यौ?
कि,
यो दुनियाँमा अजम्बरी कोही छैन
सबैले यहाँ एकदिन मर्नै पर्छ
किन सोचेनौ ?
बाँचुन्जेल हामीले मानव कल्याण गर्नेपर्छ
अझ,
मानव धर्मका खातिर सबैले एक पाइला अघि सर्नै पर्छ ।।
यहाँ,
बाँच्नुको अर्थ आफूमात्र बाँच्नु होइन
हाँस्नुको अर्थ आफू मात्र हाँस्नु पनि हुँदै होइन
विन्ती छ, यो सत्य लाई नकुल्च
आफू बाँच र अरू लाई पनि बाँच्न देउ
आफू हाँस अरूलाई पनि हाँस्न देउ।
अझ साच्चै भन्छौ भने,
आफू नहासेरै पनि अर्काको खुसीमा मुस्कुराउनेहरू लाई
घृणा होइन सम्मान गर
घरभित्र मात्र पनि होइन
मनभित्र भर
घरभित्र मात्र पनि होइन मनभित्र भर ।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,अमेरिका ।

प्रतिक्रिया