खुबुस

बिकास थाप २०७७ भदौ ८ गते १७:११ मा प्रकाशित

कसले पोत्यो होला
ती महलहरूमा रङ
कसले उमार्यो होला
त्यो मरुभूमिमा साग
कसका ॲासुले फुले होलान्
ती गमलाहरूमा फूल
कसका पसिनाले पखालिएका होलान्
चिल्ला सडकहरू
कतिले सजाउॅदै होलान् अझै
तिनै मजारभित्र सपना

म त
कलकल बग्ने हिमनदीहरूको सुसेली सुनेर
मुसारिरहेछु खडेरीले खाएको अन्नबाली
म त
पसिना बेच्ने देशको मानिस
ॲासु पिउने देशको मानिस
रगतै बेच्ने देशको मानिस
म त
आफ्नै देशको चिसो हावा सम्झॅदै
तापिरहेछु मरूभूमिको बालुवा
मेरो देश महान् छ महान् ….
पसिना बेच्छ ,साग किन्छ
ॲासु बेच्छ ,खुसी किन्छ
रगत बेच्छ,गौरव किन्छ

मित्र !
तिम्रो देशसॅग पो छ समुद्री बाटो
तब न बनायौ देशै व्यापारी
हाम्रो त छेकिदिन्छ महान् छिमेकीले
त्यसैले त …..
म त अरब आएको छु मित्र
तिम्रो देशसॅग प्रीति गाॅस्न
बाध्यताले तिम्रो जुठेल्नो माझ्न
हेर !
तातो हावाको च्यादर ओढेर
चराइरहेछु भेडा र ऊॅट

मित्र !
तिम्रो देशसॅग पो छ मरूभूमि
हाम्रो देशसॅग त छैन मरूभूमि
कहाॅ पो पोख्नु पसिना मैले
कहाॅ पो रोप्नु ॲासु मैले
हाम्रो मा त
मलिलो खेतलाई मरूभूमि तुल्याइन्छ
अनि बेचिन्छ दिनुहुॅ देशको पसिना
मौलाएको छ अझै पनि
उही पसिनाकै व्यापार
आऊ तिमी र म मीत लगाऊॅ
खन्याऊॅ हाम्रो पसिनाको सागर
ल्याएर तिम्रै मरूभूमिबीचमा हुॅदैन ?

तब न फुल्छ मरूभूमिमा गुराॅस
कसरी नझर्ला अब त यहाॅ झरना
म त्यसै अरब आएको होइन मित्र
कमाउन आएको हुॅ अरबौॅअरब
चपाउॅदै यहाॅको तातो बाफ
ढुकेछु तिम्रै भेडीगोठ र मजारा
टोक्दै बासी अमिलो खुबुस

खुबुस: अरबिक देशहरूमा खाने मैदाको रोटी । ठाउॅअनुसार यसलाई खबुज,खुबुस भनिन्छ ।
मजार : अरबिक देशहरूमा बाख्रा र भेडा पाल्ने ठाउॅ वा गोठ ।

बिकास थापा
पेन्सलभेनिया,अमेरिका

प्रतिक्रिया