प्रेम –शिव लामिछाने

इनेप्लिज २०७७ साउन २९ गते ११:०६ मा प्रकाशित

प्रेमले हेर्छु, गाउँछु– सुन्छु प्रेम सुनाउँछु
सुँघ्छु सुगन्ध पे्रमैको– छामी प्रेम सिकाउँछु
प्रेमको सूत्रमा बाँध्छु, जगत् एकै बनाउँछु
प्रेमको बागमा सारा प्रेमपुष्प फुलाउँछु ।

बाहिरी मोहको खोल, प्रेमै स्वार्थमा अन्ध छ
रिस, प्यास, भई क्रोध प्रेमै अज्ञान बन्दछ
छाडेर मोहको लोक फर्किँदा प्रेम द्वारमा
सबै भ्रम छुटी जान्छन्, भित्री प्रेमको सारमा ।

प्रेम हो एकता सूत्र प्रेम शक्ति भयंकर
ब्रह्माडै देखियो प्रेम ब्रह्मा, विष्णु र शंकर
रामको प्रेमले सारा शान्तिपूर्ण बन्यो धरा
कृष्णको प्रेमले सत्य जाग्यो, जागिन् बसुन्धरा ।

जब भ्रम गयो लोक, अन्तर्यात्रा छ प्रेमको
मोहजाल, घृणा तृष्णा धुने सागर प्रेमको
अन्तर्यात्रा गरी हेर्छु शम्भो प्रेममा भेट्दछु ।
म भेट्छु प्रेममा राम, बुद्ध, कृष्ण म देख्दछु

भर्जिनिया, अमेरिका
अगस्ट १२, २०२०

प्रतिक्रिया