मेरो नेता

-डा मणि किशोर २०७७ असार २८ गते २२:०६ मा प्रकाशित

 

चुनाबमा आगोको राँको ओकल्ने नेता,
अहिले ठुस्स धुवाँको मुस्लो फालीरहेको छ।
एउटा छुस्स भाषणले रगत उमाल्ने नेता,
अहिले आँफै ढुस्स गनाइरहेको छ।
नयाँ तरिकाले देश चलाँउछु भन्दै गएको,
अहिले एउटा गुटको मेस चलाएर बसेको छ।
सम्ब्रिद्धि भित्राउछु भन्दै गएको,
अहिले आफ्नै गाथा गाएर बसेको छ।

टायर बाल्न सिकायो,
फाएर खोल्न पनि सिकायो,
अहिले आएर एक अर्काको
पोल खोलेर बसेको छ।
एक जुग बित्न लाग्यो,
कुर्चि चपक्क समातेर बसेको छ,
फुट्टि काम गरेन,
अझै यस्तो गर्नेछु,उस्तो गर्नेछु,
भनेर चिप्लो घसेको छ।

नुवाइ धुवाइ छैन,अत्तर छर्किन्छ।
बेला न कुबेला आँखा तर्किन्छ।
आँफै गर्न जान्दैन,
अरुले भनेको नी मान्दैन।
गति हिन थियो,मतिहिन भइसक्यो,
जेमा पनि आफ्नालाई भर्ति गर्छ।
वुद्धि छैन तिन पैसाको,
विद्धान बोलाएर अर्ति दिन्छ।

जब जुरुक्क उठने बेला हुन्छ,
अनि उ सुत्न जान्छ।
नित्य कर्म गर्ने बेलामा,
शकुनि जस्तो ताना बुन्छ।
न गद्द,न पद्द,कविता लेख्छ।
आफ्नो सुरवाल फुस्केको चाल पाँउदैन,
अरु सबैलाई नाङगै देख्छ।

कार्यकर्ताको काखमा चारो हाल्छ,
जनताको आँखामा छारो हाल्छ ।
भाँडा रित्तिन लाग्यो रे,
भोका मान्छे थुप्रै छन,
उ चाँही चार पहर खान्छ।
निचोरेर खान्छ,चिथोरेर खान्छ,
ढाडीए पछि विश्राम गर्न जान्छ ।
आँफु अघाँउछ, दाइ भाइलाई खुवाउछ,
आफन्त जति सबैलाई पुयाँउछ ।
भाँडा रित्तिएर बज्न थाले पछि,
जनतालाई माज्न लगाँउछ ।

जनता भोकले सुकेनास,
उ चाँही धेरै घिचेर बुद्धिनास।
श्रमीक मजदुर जीउ बचाउन हतास,
उ चाँहि लाज पचाउन गुप्तवास ।

आफ्नै अनुहारको केक बनाएर,
जन्मेकै दिन कटक्कै काट्छ ।
नबोलेरै जीतिने बेलामा,
लामा लामा भाषण छाँट्छ ।
एउटा सत्य बोल्दैन,
झुटो बोल्न जान्दिन भनेर,
अन्तमा फेरी ढाँट्छ।

जनता भन्छन नेता,नेता,
उसको ध्यान चाँही कमिसन र ठेक्का
चुनावमा हाइ हाइ,
महामारीमा छैन हेक्का ।

-डा मणि किशोर

प्रतिक्रिया