कस्तो सिमानाको बन्धनमा छौ हामी ।
कस्तो पर्खालको घेराबन्दीमा छौ हामी ।
न त त्यस ठाउँको नाम नै छ
न त त्यस ठाउँको खुलेर परिचय छ।
त्यो सिमाना अनि त्यो पर्खालले
बनाएको छ हामीलाई परिचय विनाको मान्छे।
परिचय विनाको मान्छे ।।।
कस्तो सिमानाको खोजीमा लाग्नुपर्ने थियो होला!
थाह छैन आज सम्म
कस्तो भूगोलको खोजीमा लाग्नुपर्ने थियो
थाह छैन अझै पनि
न त त्यसको परिचय छ
न त त्यसको आफ्नो अस्तित्व टिकेको छ।
खै कहिले सम्म खुम्च्याएर परचक्रीहरुले पाईला टेकिरहने हुन्
पक्कै रहर छैन होला
भूगोल विनाको मान्छे भएर बाँच्ने।
कस्तो सिमानाको बन्धनमा पर्यौ हामी ।
न स्विकार्न बाध्य हुन्छौ
न त पर्खाल तोडन नै सक्छौ
कहिले आउँछ हाम्रो सिमाना छुट्ट्याएर बाँच्ने दिन ?
अनि मात्र हुनेछौ हामी सिमाना भित्रको मान्छे!
आफ्नै भूगोल भित्रको मान्छे ।।।
-कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका
प्रतिक्रिया