पशुपतिनाथकै मन्दिरभित्र
फूल चोर्ने हामी !
सडक बिचमा राखिएका
गमला चोर्ने हामी !
तीनकुने सडक किनारमा रोपिएको
दुबो चोर्ने हामी !
सडक किनारामा रोपिएका
बोट बिरुवा चोर्ने हामी !
नुन देखी सुन सम्म
पाए सबै चोर्ने हामी !
करोड,अर्वमा डिल चोर्ने हामी
भ्रष्ट नेता र दलका
आची सोर्ने ( सोहोर्ने ) हामी !
रक्सी बोकेर रोशनी खोज्ने
स्वाधीनतावादी हामी !
रगतको आहलमा
डुबुल्की मार्ने अपराधीहरूलाई
महान् नेता मान्ने हामी !उनीहरूलाई नै आफ्नो सबै
ज्यथा मान्ने हामी !
शेर सम्झेर बिरालाहरू बोक्ने हामी
राष्ट्र निर्माताको सालिक ठोक्ने हामी
अजबका प्राणी हामी, गजबका प्राणी हामी !
नयाँ नेपालका अग्रगामी मान्छे हामी
काङ्ग्रेसका हामी , कम्युनिस्टका हामी
रा.प्र.पा, मधेसवादी लगायत दलका हामी
धर्म, संस्कृति सबै भुलेका हामी
नेपाली हुँ भन्ने भुलेका हामी
उखान टुक्का र झुटमा डुलेका हामी
वा हामी ! कस्ता हामी ??
लोकतन्त्र गणतन्त्र बादी हामी !!
कलियुगका गोकुल, कृष्णहरूका हामी !
दास प्रथा उन्मुलन भएको देशका
नयाँ दास हामी !
वा हामी ! कस्ता हामी ??
कति सस्ता हामी !!
– रामप्रसाद खनाल, फेब्रुअरी २२, २०२०
प्रतिक्रिया