मुलुकका पाँच विमानस्थल रात्रिकालीन उडानका लागि योग्य

इनेप्लिज २०७१ माघ ४ गते १२:२३ मा प्रकाशित

planकाठमाडौँ, ४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकका पाँच विमानस्थल अबदेखि रात्रिकालीन उडानका लागि योग्य भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार विराटनगर, भैरहवा, नेपालगञ्ज र सिमरा विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएका हुन् ।

यसअघि त्रिअविसहित विराटनगर, भैरहवा र नेपालगञ्जले रात्रिकालीन उडान भर्दै आएका थिए भने हालैमात्र सिमरा विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएको हो । क्यानले हवाई यातायातलाई जनताको पहुँचमा र प्रभावकारी बनाउने उद्देश्यले विमानस्थलको सेवा विस्तार र आधुनिकीकरण गर्न लागेको छ ।

क्यानका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले मुलुकको पर्यटन प्रवद्र्धनका लागि हवाई यातायातको महत्वपूर्ण भूमिका रहने हुनाले विमानस्थलको विस्तार तथा आधुनिकीकरण गर्न लागिएको बताउनुभयो ।

महाप्रबन्धक सुमनका अनुसार आन्तरिक उडानतर्फ जनकपुर, धनगढी र सुर्खेतलाई यसै आवभित्र रात्रिकालीन उडानका लागि योग्य बनाइने तथा त्रिअविसहित भैरहवा, निजगण र पोखरा गरी चार वटा विमानस्थललाई २४ सै घन्टा सेवा दिनेगरी अन्तर्राष्ट्रिय उडानयोग्य बनाउने योजनाअनुरुप काम अघि बढाइएको छ ।

चालु आवभित्र विराटनगर र नेपालगञ्ज विमानस्थललाई आधुनिकीकरण गरी क्षेत्रीय ‘हव’का रुपमा विकास गर्ने तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय ‘कार्गो हव’का रुपमा स्थापित गर्ने क्यानको लक्ष्य छ ।

क्यानले बाराको दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको जनाएको छ । सन् २०१७ सम्म दुवै विमानस्थल निर्माण सम्पन्न गर्ने क्यानको योजना छ ।

क्यानको विवरणअनुसार हालसम्म देशमा छवटा निर्माणाधीनसमेत गरी ५६ विमानस्थल रहेका छन् भने ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया