बाढी प्रभावित क्षेत्रमा पुगेर गृहमन्त्री थापाले भने : छिट्टै पुनर्निर्माण थाल्छौँ

इनेप्लिज २०७६ साउन १ गते १०:२० मा प्रकाशित

काठमाडौँ, १ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताएका छन् ।

बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित अन्य मन्त्रीकाे साथमा प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको भन्दै अब पुनर्निर्माणको काम अगाडि बढाउने बताएका हुन् ।

‘लगभग उद्धारका काम सम्पन्न भएको छ, केही बाँकी छन्। अब पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउँछौं’,  गृहमन्त्री थापाले भने । उद्धार र राहतको काम कसरी भइरहेको छ भनेर निरीक्षण गर्न आफूहरू पुगेको पनि उनले बताए।

टोलीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री थापा, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ छन् । यस्तै, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समितिका सभापति कल्याणी खड्का र रौतहटका सांसद प्रभु साह पनि सहभागी थिए।

उनीहरु बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट रौतहट पुगेका हुन् । अघिल्लो साता परेको वर्षाले प्रदेश २ मा ठूलो क्षति पुर्‍याएको छ ।हालसम्म देशभर बाढीपहिरो परी मृत्यु हुनेको संख्या ७८ पुगिसकेको छ ।

प्रतिक्रिया