पराजय भोग्ने डरले नेविसंघ निर्वाचनबाट भाग्न खाज्यो : रञ्जित तामाङ

इनेप्लिज २०७५ माघ १५ गते १२:०९ मा प्रकाशित

काठमाडौं, १५ माघ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भीर आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा आयोजिता कार्यक्रममा उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए ।

उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । ‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ’ , तामाङले भने ।

विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने, ‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’

नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भीर आरोप छ । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । ‘नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहान्छु कि नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन’, तामाङले थपे ।

स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने, ‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन ।’ उनले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको व्यंग्य गरे ।

यता, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले भने स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारे । उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । ‘ सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्’, महरले भने ।

स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाइसकेको पनि महरले जनाए । उनले भने, ‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’

स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागत नभएको पनि उनले उद्घोष गरे । ‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो’, अध्यक्ष महरले थपे ।

प्रतिक्रिया