निकुञ्जका बीच गाउँका अधिकांश घर भत्किए

इनेप्लिज २०७२ वैशाख १८ गते ९:२७ मा प्रकाशित

shivapuriसुन्दरीजल (काठमाडौँ), १८ वैशाख । शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको गोकर्णेश्वर नगरपालिकाको दुर्गम भेगका वडा नं १ र २ का अधिकांश घर शनिबारको विनाशकारी भूकम्पबाट क्षतविक्षत भएका छन् ।

मानवीय क्षति कम भए पनि भौतिक क्षति धेरै भएको सुन्दरीजल गाविसका पूर्व गाविस उपाध्यक्ष पूर्णबहादुर तामाङले बताउनुभयो । नुवाकोट र सिन्धुपाल्चोकसँग सीमा जोडिएका नगरपालिकाका वडा नं १ र २ मा अधिकांश बासिन्दा घरबाहिर रहेकाले मानवीय क्षति कम भएको हो ।

मानवीय क्षति कम भए पनि भौतिक संरचना र चौपायाको क्षति धेरै भएको ओख्रेनी गाउँका स्थानीय डम्बरबहादुर तामाङले बताउनुभयो । तीन सय ६० वटा घर रहेको वडा नं १ मा तीन जनाको घरले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन सय ६५ वटा घर भएको वडा नं २ मा मानवीय क्षति नभए पनि घर प्रायः क्षति भएको सुन्दरीजलका पूर्व गाविस अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।

करिब पाँच हजार जनसङ्ख्या भएको वडा नं १ र २ का ओखे्रनी, चिलाउने, कुने र मूलखर्कका अधिकांश घर ढुङ्गाले छाएकाले ध्वस्त भएको आज राहत लिएर पुगेका नगरपालिकाका प्रतिनिधि श्रीकृष्ण ज्योतिले बताउनुभयो । “नगरपालिका घोषणा गरिए पनि विकट यस क्षेत्रमा अहिलेसम्म राहत आएको छैन, काठमाडौँमा नै भए पनि यस ठाउँमा कसैको ध्यान गएको छैन”–उहाँले भन्नुभयो ।

“हामी खोले पकाएर र पानी तताएर पनि खान्छौँ तर ओतका लागि पाल पाए हुन्थ्यो”– भूकम्प पीडित स्थानीय पार्वती तामाङले भन्नुभयो । अधिकांश तामाङ बस्ती रहेको यस स्थानका सर्वसाधारण मदिरा बेचेर जीवनयापन गर्दै आएका छन् ।

“शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्ज बीचमा पर्ने यो बस्तीमा लगाएको बाली पनि जङ्गली जनावरले खाइदिने भएकाले यो ठाउँमा निकै समस्या देखियो”–नगरपालिकाको प्रतिनिधित्व गर्दै राहत वितरणमा जुट्नुुभएका लालबहादुर तामाङले भन्नुभयो ।

प्रतिक्रिया