सञ्चारकर्मीलाई जनसङ्ख्यासम्बन्धी अभिमुखीकरण तालिम

इनेप्लिज २०७१ चैत १९ गते २:५३ मा प्रकाशित

ललितपुर, १९ चैत । जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा सञ्चारकर्मीको लागि बुधबार यहाँ आयोजित जनसङ्ख्यासम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भयो ।

एकदिने सो तालिममा करिब दुई दर्जन सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

विशेष गरी जनसङ्ख्या अध्ययनको क्षेत्रभित्र पर्ने विषय, परिवर्तनका कारक तत्व, उमेरअनुसारको प्रजनन दर, शिशु मृत्युदरलगायत विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले दिनुभयो ।

जनसङ्ख्या अध्ययनभित्र मानिसको जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सामाजिक न्याय, गरिबी, बेरोजगारी, गुणस्तरीय जीवन, जनसङ्ख्या र वातावरणलगायतको अध्ययन आवश्यक रहेकाले सञ्चारकर्मीलाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो ।
उहाँले प्रति एकलाख आमाले शिशुको जन्म दिने समयमा २८१ को मृत्यु हुने गरेका,े हाल नेपालमा शिशु जन्मदर २ दशमलव १ प्रतिशत रहेको तथ्याङ्क पनि सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया