श्यामप्रसाद न्यौपानेको ‘मिस्कल’माथि एक दृष्टि

इनेप्लिज २०८३ असार २० गते १:५३ मा प्रकाशित

साहित्यको चार विधाका अनेक उपविधा छन् । आधुनिक साहित्यमा आधुनिक युग र जीवनको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । त्यस्ता मानिस जोसित कम समय रहेको छ तिनीहरुलाई लक्ष्यित गरी साहित्य सिर्जना हुन थालेको छ । यसै क्रममा आख्यानको लघुरूपमा लघुकथाको प्रचलनमा विस्तार भइरहेको छ । लघुकथा लेखनले आफ्नै रीति र थिति बसालिइसकेको छ । यसै सन्दर्भमा नेपाली लघुकथाले अझ आफ्नो पहिचानलाई स्थापित गरिसकेको छ । आफ्नै विशिष्टता तथा शैलीसहित नेपाली लघुकथाले निरन्तर फड्को मारिरहेको छ । नेपाली लघुकथाको क्षेत्रमा एक लघुकथाकारको नाम हो – डा. श्यामप्रसाद न्यौपाने ।

डा. न्यौपाने नेपाली साहित्यको बहुमुखी साहित्यिक प्रतिभा हुन् । डा. न्यौपानेका नेपाली साहित्यको ताङ्का, मुक्तक, गजल, गीत, कविता, खण्डकाव्य प्रकाशित छन् । यसबाट स्वदेशी तथा विदेशी काव्यका अनेक उपविधाका डा. न्यौपाने सिद्धहस्त सर्जक हुन् भन्ने पुष्टि हुन्छ । डा. न्यौपानेका सिर्जना विधाका एक ताङ्का, एक गीत, तीन गजल, तीन कविता, तीन खण्डकाव्य, चार मुक्तक, र दुई लघुकथा कृति प्रकाशित छन् र समालोचनाका एक कृति प्रकाशित छन् । डा. न्यौपानेको पछिल्लो कृतिको रुपमा प्रकाशित भएको छ – मिस्कल । यो लघुकथा कृति हो ।

स्याङ्जाको गल्याङ नगरपालिका ४ कुरुङ्चे गाउँमा जन्मिई नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीका स्थायी बासिन्दा डा. न्यौपाने भाषाविज्ञानमा विद्यावारिधि हुन् । नेपाली वाङ्मयका ऊर्जावान साधक डा. न्यौपाने पेसाले प्राध्यापक हुन् । साहित्य साधना र साहित्य अध्यापनको सुन्दर सङ्गमयुक्त व्यक्तित्व डा. न्यौपानेको आधा दशकको अन्तरालमा प्रकाशित दुई लघुकथा कृतिमध्ये पछिल्लो हो – मिस्कल । २०८२ मा साहित्य परिषद्, नवलपरासीबाट प्रकाशित यही लघुकथा कृतिमाथि यहाँ प्रकाश पारिएको छ ।

प्रस्तुत मिस्कल लघुकथा सङ्ग्रहभित्र पचास ओटा लघुकथाहरु सङ्कलित छन् । सुरुदेखि क्रमशः घर, आमाबाबुको आशीर्वाद, आरक्षण, अहिंसा परमोधर्म, अन्तर्घात, बर्थ–डे पार्टी, विकास, पछुतो, वृद्धवृद्धाको सेवा, बुबाको सम्झना, धाँधली, दृष्टिकोण, गहना, हिमचिम, जनमत, जिन्दगी, कलासंस्कृतिको उत्थान, कर्मको फल, सुखी, कृतघ्न, लकडाउन, महिला हिंसा, मत परिणाम, मिस्कल, नतिजा, नेगेटिभ, नेता हुने लक्षण, पन्नालाल, कुबिजा, सदाचार, सहानुभूति, समाजसेवा, सम्मान, सङ्गठन, शङ्का, स्वाभिमान–२, टिकट, उम्मेदवारी घोषणा, अबोधपना, भाषिक पीडा, दुनियाँको न्याय, पत्नीव्रता, सम्पादक, साथ, परिणाम, स्पर्शशील, धनभन्दा विद्या ठुलो, एकमत, ऊ र भगुमान लघुकथाहरू रहेका छन् । लघुकथा कृतिको शीर्षक रहेको मिस्कल पनि एउटा लघुकथा रहेको जुन कृतिको बिचतिर राखिएको छ ।

विविधता यसको विषयगत विशिष्टता हो । मानव जीवनसित सम्बन्धित अनेक विषयमा यसमा लघुकथाहरू रहेका छन् । समाजको हरेक क्षेत्रलाई लघुकथाकारको संवेदनाले मसिनो विश्लेषण गरेको लघुकथाहरुले पुष्टि गर्दछन् । जहाँ सर्जकको मन छुन्छ त्यहाँ साहित्य सिर्जना हुन्छ । सर्जकको एउटै लक्ष्य हुन्छ – सुधारको चाहना । साहित्य केवल मनको अभिव्यक्ति होइन न त समाजको कोरा दर्पण नै हो । यसमा रचनाकारको अभिमत पनि लुकेको हुन्छ र समाजलाई स्पष्ट सन्देश दिइएको हुन्छ । लघुकथाकार डा. न्यौपाने अधिकांश कथामा आफ्नो विचारलाई पुष्टि गर्दै न्याय हुनुपर्ने धारणा अगाडि राख्दछन् । कतिपय अवस्थामा कमजोरी केलाएपछि सुधारको बाटो आफैँ सङ्केत हुन्छ । यस कृतिमा सुधारको उपाय साङ्केतिक रूपमा बताइएको छ र समस्यालाई छर्लङ्ग देखाइएको छ ।

नेपाली समाजको चिन्तन, व्यवहार, दृष्टिकोण र दृष्टिदोषलाई पनि लघुकथाको विषय बनाइएको छ । घटनाप्रतिको पृथक दृष्टिकोणलाई लघुकथाकारले स्पष्ट पारेका छन् । कतिपय लघुकथाको परिणामलाई पूर्वानुमान गर्न सकिन्छ भने कतिपयमा बीज वाक्यको प्रतीक्षा गर्नुपर्ने हुन्छ । यसरी विचार गर्दा लघुकथाकार डा. न्यौपानेले अनुमानयोग्य र नाटकीय दुवै किसिमको अन्त्य शैलीलाई अपनाउनमा सफल छन् । कतिपय लघुकथामा स्थानीयताको छाप छ भने कतिपय लघुकथा वैश्विक वा शाश्वत सत्यलाई अङ्गीकार गर्दछन् । समसामयिकता यसको मूल प्रवाह हो । सामाजिक जीवनमा देखा परिरहेका नैतिकताको ह्रास, मानवताको अवमूल्यन तथा निष्ठा र आदर्शको विलयनलाई यथार्थमा देखाएर लघुकथाकार डा. न्यौपानेले समाजलाई समृद्ध बनाउन नैतिकता, मानवता तथा आदर्शको आवश्यकताबोध गराउँछन् । शिक्षा, संस्कृति, साहित्य, चिकित्साजस्ता क्षेत्रमा रहेका कतिपय विकृतिलाई हटाउनको लागि परोक्षतः आह्वान गरिएको छ । कतिपय ठाउँमा व्यक्त र कतिपय ठाउँमा अव्यक्त रुपमा लघुकथाकार राजनीतिको मूल्य र मान्यतामा विरोधावास हुन नहुने बताउँछन् । राजनीतिबाट नै धेरै कुरा प्रेरित र प्रभावित हुने भएकाले यसमा शुद्धता वा इमानदारीको पक्षमा लघुकथाकार डा. न्यौपाने वकालत गर्दछन् । सामाजिक तथा समसामयिक जीवनका कतिपय असन्तुष्टि तथा कतिपय आक्रोशलाई लघुकथनको माध्यमले अभिव्यक्त गर्नु पनि लघुकथाकारको विशेषता बन्न पुगेको छ ।

सरलता यस कृतिको विशिष्टता हो । वाक्य गठन, शब्द चयन, भाषिक प्रवाह आदिमा सरलताले करिब सम्पूर्ण कृतिलाई सरल र सुबोध बनाएका छन् । लक्षणा र व्यञ्जना शब्दशक्तिको तुलनात्मक रुपमा कम प्रयोग गरिएको छ । शब्दमा नभए पनि अर्थमा भने लक्षणा तथा व्यञ्जनाको चातुर्यपूर्ण प्रयोगले कतिपय लघुकथामा चामत्कारिक अर्थ प्रदान भएको छ । परिवेशानुसारको भाषा र कथ्यशैलीको प्रयोगले लघुकथालाई जीवन्त बनाएको छ । संवादमा देखिने मौलिकपना र कतिपय अवस्थामा पश्चिमेली नेपालीको प्रयोग र केही अप्रचलित शब्दको प्रयोगले कतिपय लघुकथालाई विशेष बनाएको छ भने लघुकथाकारको मौलिकपनाको छनक दिएको छ । पात्रको स्तरअनुसारको भाषा र संवादमा अपनाइएको सचेतनाले लघुकथाहरूलाई विश्वसनीय बनाएको छ ।


आयामका दृष्टिले भने नेपाली लघुकथाको वर्तमान स्वरूपभन्दा केही पृथक देखिएका छन् यस कृतिका लघुकथाहरू । लघुकथाका समालोचकहरूले पछिल्लो समयमा लघुकथालाई साढे दुई सय शब्दसीमामा सीमित हुनुपर्ने वा कतिपयले तीन सय शब्दसम्मको हुनुपर्ने भनी सीमा निर्धारण गरेका छन् । कतिपय लघुकथाहरू यही आयाममा विरचित छन् भने कतिपय चाहिँ अलिक बढी शब्दसम्मका परेका छन् । एकथरिको मान्यता यो पनि रहेको छ – उत्कर्षमा आरम्भ भई लघुकथा विभिन्न चरण पार गर्दै उत्कर्षमा नै टुङ्गिन्छ । यस दृष्टिले पनि यस सङ्ग्रहका कतिपय लघुकथा छोटो कथा हुन गएका छन् । यसलाई यस कृतिको सीमा मान्न सकिन्छ ।

कृतिको शीर्षक राखिएको छ – मिस्कल । यो अङ्ग्रेजी शब्द हो । अङ्ग्रेजीका ‘मिस्ड’ र ‘कल’ अर्थात् ‘छुटेको कल’ वा ‘वार्ता हुन नसकेको कल’को सङ्क्षेप तथा चलनचल्तीमा रहेको ‘मिस्कल’बाट नै कृतिको नामकरण गरिएको छ । कृतिको नामकरणमा सचेतना अपनाउनुपर्ने पक्ष हो यो । सामान्यतया कुनै कृतिभित्रको कुनै एक रचनाको नामबाट कृतिको नामकरण गर्दा पाठकलाई आफ्नो सोही रचना सर्वोत्तम हो भन्ने परोक्ष सिफारिस गरिएको मानिन्छ । पाठकले पनि सबैभन्दा पहिले त्यहीँ रचना पढ्न रुचाउँछन् वा त्यसैलाई कृतिको प्रतिनिधि सिर्जना मान्दछन् । यसले गर्दा अन्य रचनाप्रति अन्याय गरेको ठहरिन्छ । यसैले कविता, लघुकथा, कथा, संस्मरण, नियात्राजस्ता कृतिको नामकरणमा सम्भव भएसम्म कुनै एक रचनाको शीर्षकलाई कृतिको नामकरण गर्नुबाट सचेतना अपनाउनु राम्रो मानिन्छ । यद्यपि ‘मिस्कल’ सबै दृष्टिले राम्रो लघुकथा हो र यो कृतिको नामकरण पनि उचित छ । कृतिको आवरण पृष्ठमा पनि मोबाइल हातमा लिइएको आकृति रहेकोले पनि कृतिको शीर्षक सादृश छ ।

लघुकथाका विश्लेषक, समीक्षक, समालोचलक, अनुसन्धानकर्मीसमेतलाई उपयोगी प्रस्तुत लघुकथा कृति लघुकथाका पाठक तथा सिकारुलाई पनि यो कृति उत्तिकै उपयोगी छ । लघुकथाकार डा. न्यौपाने आफैँ समालोचकसमेत भएकाले लघुकथाको सैद्धान्तिक पक्षको बारेमा मात्र नभई लघुकथाको अभ्यन्तर वा अन्तरकुन्तर थाहा छ । डा. न्यौपानेको यस लघुकथा कृतिले सरलता, सरसता, बोधगम्यता र परम्परागत धारका लघुकथाको प्रतिनिधित्व गरेको छ । आधुनिक नेपाली लघुकथामा यस कृतिको ठुलो मूल्य रहने देखिन्छ । लघुकथाकार डा. न्यौपानेको प्रस्तुत कृतिले यस क्षेत्रमा ऐतिहासिक काम गरेको छ । आगामी दिनमा अझ खारिएका लघुकथाहरू आऊन् भन्ने शुभकामना व्यक्त गर्दछु । मलाई कृति प्रेषित गर्नु भएकोमा हार्दिक आभार पनि प्रकट गर्दछु ।

प्रतिक्रिया