
–खगराज बराल, पोखरा, नेपाल
बिस्तारामा पेट टेकाएर गृहकार्य गरिरहेको छोराले अचानक टाउको उठायो ।
बा, पल्लो घरका अङ्कलकी छोरी जन्मेकी रहिछन् ।
हो रे ।
अनि न्वारन नभईकन लक्ष्मी कसरी भइन् ?
म अखबारबाट आँखा उठाएर उसलाई हेर्न थालेँ ।
कसले भन्यो ?
अङ्कलले । आज बिहान गेटमा उभिएर सबैलाई भन्दै हुनुहुन्थ्यो,हाम्रो घरमा लक्ष्मी आइन् ।
उसले पेन्सिल घुमाउँदै फेरि सोध्यो, जेठी दिदीको नाम पनि त लक्ष्मी नै ह
हो ।
अनि अहिले आएकी पनि लक्ष्मी ?
त्यसै भने त ।
उसले कापी बन्द गर्यो ।
दुई-दुईवटा लक्ष्मी भएपछि त अङ्कलको घर धनी हुनुपर्ने हो, हैन ?
मेरो ओठमा हल्का मुस्कान आयो ।
केही बेर चुप बसेपछि उसले अर्को प्रश्न फ्याँक्यो ।
बा, सरस्वती भनेको के हो ?
विद्याकी देवी।
अनि छोरी जन्मिँदा सरस्वती आइन् भनेर किन नभन्ने ?
मैले उत्तर खोज्दै गर्दा ऊ आफैँ बोल्यो, विद्यालयमा सरले विद्या सबैभन्दा ठूलो धन हो
भन्नुहुन्थ्यो त !
आँगनतिर हेर्दै मैले हुन सक्छ मात्र भनेँ ।
उसले मेरो अनुहार पढेजस्तो गर्यो ।
मान्छेलाई विद्याभन्दा पैसा बढी मन पर्छ कि क्या हो ?
म मौन रहेँ ।
ऊ फेरि गृहकार्यतिर फर्कियो । केही बेरपछि अर्को प्रश्न आयो ।
बा, माथिल्लो घरमा बिहे हुँदा पनि त्यस घरकाले लक्ष्मी भित्रियो भनेका थिए नि ?
हो, भनेका थिए ।
नयाँ बुहारीलाई ?
हो त ।
अनि, अहिले पनि उनलाई लक्ष्मी नै भन्छन् कि आफ्नै नामले चिनिनुहुन्छ ?
म उत्तर सोचिरहेकै थिएँ ।
यदि उनको नाम पहिलेदेखि सरस्वती रहेछ भने ?
म भने टेबलमा राखिएको चिसिँदै गरेको चियाको कप घुमाइरहेँ ।
उसले फेरि कापी बन्द गर्यो ।
छोरी जन्मिँदा लक्ष्मी । बुहारी आउँदा पनि लक्ष्मी ।
ऊ केही गनेजस्तो गर्दै रोकियो ।
सरस्वतीचाहिँ कहिले आउँछिन् नि ?
कोठामा एकछिन सन्नाटा छायो ।
बाहिर साँझ ओर्लिन थालेको थियो ।
अनि छोरा जन्मिँदा के भन्छन्, बा ?
मैले झ्यालबाहिर हेरेँ ।
उसले आफैँ उत्तर निकाल्यो र भन्यो, कुबेर ?
आफ्नै कुरा सुनेर ऊ हाँस्यो ।
म भने हाँस्न सकिनँ ।
म जन्मिँदा के भन्नुभएको थियो बा ?
मैले उत्तर दिन खोजेँ, शब्द भेटिनँ ।
ऊ उठेर झ्यालतिर गयो ।
क्षितिजमा घाम डुब्न लागेको थियो ।
अनि छोरीको बिहेपछि ज्वाइँलाई के भन्छन न ?
म केही बोलिनँ ।
उसले केही क्षण सोचेपछि मुस्कुराउँदै भन्यो, लक्ष्मीका पति नारन् त होला नि !
उसको हाँसो कोठाभरि फैलियो ।
म भने झ्यालबाहिर डुबिरहेको घाम हेर्दै बसिरहेँ । साँझको उज्यालो बिस्तारै फिक्का हुँदै गइरहेको
थियो, तर उसले छोडेका प्रश्नहरू झन् प्रष्टिँदै थिए ।
प्रतिक्रिया