अध्यक्ष पौडेलको नेतृत्वमा नैतिक शिक्षा ब्यूँताउने अभियान: असार २१ मा विशेष कार्यक्रम

बेद प्रसाद घिमिरे २०८३ असार १८ गते २२:४९ मा प्रकाशित

काठमाडौँ, १९ असार । वैदिक धर्म संरक्षण मञ्च, नेपालका अध्यक्ष नारायण प्रसाद पौडेलले समाजमा ओझेल पर्दै गएको रैथाने संस्कार र नैतिक शिक्षालाई पुनः ब्यूँताउन आफैँ अग्रसरता लिनुभएको छ। वि.सं. २०७० देखि नै सनातन धर्म र वैदिक मूल्य मान्यताको जगेर्नामा दृढतापूर्वक लाग्नुभएका अध्यक्ष पौडेलकै विशेष सक्रियता र प्रखर नेतृत्वमा आगामी असार २१ गते आइतबार एक बृहत् सचेतना कार्यक्रमको आयोजना गरिँदैछ।

बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा “संस्कृत भाषा तथा नैतिक शिक्षा: आजको आवश्यकता र अपरिहार्यता” विषयक उक्त कार्यक्रम हात्तीगौँडास्थित नगरपालिकाको हलमा बिहान ११:०० बजे सुरु हुनेछ। आधुनिकताको बहावमा मौलिक पहिचान र आचरण गुम्दै गइरहेको वर्तमान अवस्थालाई चिर्न अध्यक्ष पौडेलले यो अभियानको खाको कोर्नुभएको हो।

अध्यक्ष पौडेलले यस ऐतिहासिक अभियानलाई सफल पार्न समाजका बौद्धिक वर्गको सहभागिता अनिवार्य रहेको बताउनुभएको छ। उहाँले विभिन्न संस्कार, संस्कृति तथा आध्यात्मिक चिन्तनले प्रेरित संघसंस्थाहरू, सामुदायिक एवं निजी विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापकज्यूहरूलाई कार्यक्रममा सक्रिय सहभागी भई वैचारिक योगदान दिन हार्दिक निमन्त्रणा सहित अपिल गर्नुभएको छ। शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति र मन्थनले मात्रै नयाँ पुस्तालाई सही मार्गनिर्देश गर्न सकिने र समाजमा नैतिक क्रान्ति ल्याउन सकिने बलियो विश्वास अध्यक्ष पौडेलले व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया