
न्युयोर्कस्थित विश्वकै प्रसिद्ध ‘एम्पायर स्टेट भवन ‘ को सबैभन्दा माथिल्लो भागमा पुगेर एक जोडीले गरेको हर्कतले अहिले संसारभर चर्चा पाएको छ।
‘औँठी साटासाट’ इन्गेजमेन्टको दिनलाई ‘विशेष’ बनाउने नाममा उनीहरूले कानुनको गम्भीर उल्लंघन गरेका छन्।
घटना बुधबारको हो। एञ्जेला निकोलाउ र इभान कुज्नेत्सोभ नामका यी जोडी अवैध रूपमा भवनको १०४औँ तल्लाको सुरक्षा ढोका फुटाएर एन्टेना (तरंगग्राही) भएको स्थानसम्म पुगेका थिए। जमिनबाट करिब १,४५४ फिट (४४३ मिटर) माथि पुगेर उनीहरूले एउटा ध्वजा फहराए, जसमा लेखिएको थियो— “जब प्रेमको शक्तिले सत्ताको प्रेमलाई जित्छ, तब संसारले शान्ति पाउँछ।”
त्यसपछि उनीहरूले त्यही उच्च स्थानमा बसेर इन्गेजमेन्ट (औँठी साटासाट) गरे। निकोलाउले सामाजिक सञ्जालमा म्यानहटन सहरको दृश्यसँगै औँठी लगाएको तस्बिर समेत सार्वजनिक गरेकी छिन्।
उनीहरू ‘स्काईवाकर’ नामले परिचित छन्, जसले संसारका अग्ला भवनहरूमा अनुमतिबिना चढ्ने र खतरनाक साहसिक कार्य (स्टन्ट )गर्ने गर्छन्।
उनीहरूको यही साहसिक र विवादास्पद जीवनशैलीमाथि सन् २०२४ को नेटफ्लिक्स वृतचित्र(डकुमेन्ट्री) ‘स्काईवाकर: अ लभ स्टोरी’ पनि बनेको छ।
तर, यसपटक उनीहरूको यो कार्य ठूलो समस्या बनेको छ। उनीहरूलाई समात्नका लागि प्रहरीले भवनको एन्टेना बन्द गर्नुपरेको थियो, जसले गर्दा अन्य काममा पनि अवरोध पुग्यो।
प्रहरीका अनुसार, यस कार्यले उनीहरूलाई मात्र नभई उनीहरूलाई पक्राउ गर्न गएका आपत्कालीन सेवाका अधिकारीहरूलाई समेत निकै ठूलो जोखिममा पारेको थियो। प्रहरीले करिब १,२५० फिट माथि चढेर उनीहरूलाई फर्किने क्रममा नियन्त्रणमा लिएको थियो।
अदालतमा मुद्दा दायर भएसँगै यो जोडी अहिले गम्भीर कानुन उल्लंघनको आरोपमा कानुनी कठघरामा उभिएको छ।
उनीहरूमाथि चोरी, कानुनविपरीत भवन प्रवेश र सार्वजनिक सुरक्षामा खतरा पुर्याएको जस्ता गम्भीर आरोपहरू लगाइएको छ।
अदालत बाहिर निस्कने क्रममा इभानले सञ्चारकर्मीको प्रश्नमा सामान्य रूपमा मात्र यति भने हामी प्रेममा विश्वास राख्छौँ।
प्रतिक्रिया