८ दिनपछि भग्नावशेषबाट जीवित उद्धार: भेनेजुएलामा आशाको किरण बने ४३ वर्षीय सुरक्षाकर्मी 

इनेप्लिज २०८३ असार १८ गते १९:५० मा प्रकाशित

दुई शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएको आठ दिनपछि भेनेजुएलाबाट ४३ वर्षीय सुरक्षाकर्मी हर्नान अल्बर्टो गिल फ्लोरेसलाई भग्नावशेषभित्रबाट जीवितै उद्धार गरिएको छ।

गत जुन २४ मा आएको भूकम्पपछि ला ग्वाइरा राज्यको समुद्री तटीय सहर काटिया ला मारस्थित गालेरियास प्लाया ग्रान्दे किनमेल केन्द्रको छिडी(बेसमेन्ट )भत्किँदा उनी त्यहीँ फसेका थिए। उद्धार टोलीले केही दिनअघि उनीसँग सम्पर्क स्थापित गरेपछि लगातार कठिन अभियान सञ्चालन गरेको थियो।

उद्धारकर्मीहरूले अस्थिर भवन, निरन्तर परेको वर्षा र पटक–पटक आएका पराकम्पनका बीच १०० घण्टाभन्दा बढी समयसम्म सुरुङ खनेर उनलाई सुरक्षित बाहिर निकाले। 

उद्धारका क्रममा निकै सावधानी अपनाइएको थियो, किनभने भवन थप भत्किने जोखिम थियो।

धुलोले ढाकिएका गिल फ्लोरेसलाई अक्सिजन मुखावरण(मास्क ) लगाएर स्ट्रेचर( विरामी बोक्ने डोली) बाहिर ल्याइयो। 

उद्धार सफल भएपछि विभिन्न देशका झण्डा बोकेका उद्धारकर्मी र त्यहाँ उपस्थित मानिसहरूले ताली बजाउँदै खुसी व्यक्त गरेका थिए। 

त्यसपछि उनलाई रुग्णबाहिनी (एम्बुलेन्स)मा राखेर स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

यो सफल उद्धारले भूकम्पबाट प्रभावित हजारौं परिवारका बीच आशा र हिम्मत जगाएको छ। 

कठिन परिस्थितिमा पनि हार नमान्ने उद्धार टोलीको अथक प्रयासले एक जनाको जीवन बचाउन सफल भएको भन्दै विश्वभर यसको प्रशंसा भइरहेको छ।

प्रतिक्रिया