३५ वर्षको राजनीतिक शोषणमाथि प्रहार: बर्दियाका भूमिहीन दलितको हातमा बल्ल आयो आफ्नै जग्गाको लालपुर्जा

इनेप्लिज २०८३ असार १८ गते १४:४९ मा प्रकाशित

विगत ३५ वर्षदेखि भूमिहीन र सुकुम्बासीका नाममा राजनीति गरिरहेका पुराना राजनीतिक दलहरूलाई ठूलो झट्का लागेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेर इतिहास रचेकी छन् । लामो समयदेखि आफ्नो नाममा जमीनको स्वामित्व नपाएर छटपटिएका स्थानीय नागरिकहरू लालपुर्जा हातमा परेपछि कानुनी रूपमा जग्गाधनी मात्र बनेका छैनन्, उनीहरूको वर्षौँदेखिको सपना साकार भएको छ।

विगत साढे तीन दशकसम्म नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता पुराना दलहरूले यिनै गरिब र निमुखा सुकुम्बासीहरूलाई केवल चुनाव जित्ने ‘भोट बैंक’ मात्र बनाए। सर्वहारा वर्गको नाम बेचेर नेताहरू आफैँ खर्बपति बने, विलासी जीवन बिताए र देशको ढुकुटी लुटेर जनतालाई कङ्गाल बनाए।

यिनीहरूको असली नियति त्यतिबेला उदाङ्गियो, जब थुनामा परेका विवादित बिचौलिया दीपक भट्टसँग यिनै शीर्ष नेताहरूले खिचेको तस्बिर सार्वजनिक भयो। दीपक भट्ट तिनै व्यक्ति हुन् जो चाडबाडमा शेरबहादुर देउवाको घरमा टीका थाप्न पुग्थे। यस्तो बिचौलिया र भ्रष्ट संयन्त्रको चङ्गुलमा फसेका नेताहरूबाट गरिब सुकुम्बासीको समस्या समाधान हुनु असम्भव जस्तै थियो।

तर, अन्यायको घडा भरिएपछि ‘जेन्जी’ युवा पुस्ताले देशमा ऐतिहासिक परिवर्तन ल्याइदियो। भ्रष्ट नेताहरूलाई सत्ताबाट लखेटेपछि अहिले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बनेको छ, जसले सुशासन र न्यायको बलियो जग बसालेको छ। नयाँ सरकार गठन भएको १०० दिनमै ५० वर्षदेखि हुन् नसकेका कामहरू अहोरात्र खटिएर पूरा गरिँदै छन्, जसको प्रत्यक्ष अनुभूति जनताले गरिरहेका छन्। पुराना भ्रष्ट र देश लुट्ने नाइकेहरू धमाधम समातिएर जेल जाँदै छन्।

यही बालेन सरकारकी सबैभन्दा जुझारु र सक्रिय मन्त्री प्रतिभा रावलले आफ्नो बाचा अनुसार असारको तेस्रो सातादेखि देशभर जग्गा वितरण गर्ने अभियान बर्दियाबाट सुरु गरेकी छन् । बर्दियाको यो ऐतिहासिक सुरुवातपछि अब क्रमशः तनहुँ, बाँके, झापा र मकवानपुर लगायतका जिल्लाहरूमा पनि धमाधम लालपुर्जा वितरण गर्ने कार्य प्रारम्भ भइसकेको छ। वर्षौँदेखि ओत लाग्ने थलोको पर्खाइमा रहेका गरिब र भूमिहीन नागरिकहरू आज लालपुर्जा पाएर अत्यन्तै खुसी र उत्साहित भएका छन्।

प्रतिक्रिया