
दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या २,३०० नाघेको छ। उद्धार टोलीहरूले अझै पनि भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। अधिकारीहरूका अनुसार ११ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् भने करिब १३ हजार मानिस घरबारविहीन बनेका छन्।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले बुधबार मृतकको संख्या २,३०० पुगेको पुष्टि गरेका हुन्। साथै, संयुक्त राष्ट्रसंघ (यूएन)ले कम्तीमा ५० हजार मानिस अझै बेपत्ता रहेको अनुमान गरेको छ। यसले उद्धार कार्यलाई अझ चुनौतीपूर्ण बनाएको छ।
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर सात दिनको राष्ट्रिय शोक घोषणा गरेकी छन्। उनले ठूलो मानवीय क्षतिले देशको मन र आत्मा दुःखी भएको भन्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।
गत जुन २४मा एक मिनेटको अन्तरालमै ७.२ र ७.५ म्याग्निच्युड(परिमाण)का दुई शक्तिशाली भूकम्प आएका थिए। ती भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन्। राजधानी काराकासबाट करिब ४० किलोमिटर उत्तरमा रहेको ला गुआइरातटीय क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ दर्जनौँ भवन पूर्ण रूपमा ढलेका छन्। साथै, देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यस भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको छ।
सरकारले सडक, अस्पताल, विद्यालय, आवास तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको पुनर्निर्माण कोष स्थापना गर्ने घोषणा गरेको छ। साथै, व्यवसाय वा रोजगारी गुमाएका नागरिकलाई राहत दिन थप आर्थिक सहायता तथा बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी पनि भइरहेको छ।
संयुक्त राष्ट्रसंघको प्रारम्भिक प्रतिवेदनअनुसार, यी दुई भूकम्पका कारण ६.७ अर्ब अमेरिकी डलरभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति भएको अनुमान गरिएको छ। उद्धार, राहत र पुनर्निर्माणको काम अझै तीव्र गतिमा जारी छ।
प्रतिक्रिया