“विश्वले हाम्रो बदलाको आवाज सुनोस्”: इरानी नेताको आह्वान, इतिहासकै सबैभन्दा ठूलो अन्त्येष्टिको तयारी

इनेप्लिज २०८३ असार १८ गते ११:१९ मा प्रकाशित

इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बगेर घलिबाफले आफ्ना स्वर्गीय सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा देशैभरिका नागरिकलाई ठूलो संख्यामा सहभागी हुन आग्रह गरेका छन्। युद्धको सुरुवाती चरणमा अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणमा परी नेता खामेनीको मृत्यु भएको थियो। घलिबाफले अन्त्येष्टिमा लाखौँको उपस्थिति गराएर नै शत्रुसँग बदला लिनुपर्ने बताएका छन्।

आउँदो शनिबारदेखि सुरु हुने अन्त्येष्टि समारोहका लागि अपिल गर्दै घलिबाफले भने, “म सम्पूर्ण इरानी जनतालाई यो ऐतिहासिक क्षणमा सहभागी भई नयाँ इतिहास लेख्न निमन्त्रणा गर्दछु। हाम्रो बदलाको आवाज अब सिङ्गो विश्वको कानमा गुन्जिनुपर्छ।”

यसअघि युद्ध चर्केका कारण यो अन्त्येष्टि कार्यक्रम रोकिएको थियो। तर हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले इरानसँगको वार्तामा सकारात्मक प्रगति भएको बताएपछि अन्त्येष्टि गर्न लागिएको हो।

सिबिएसन्यूजका अनुसार सरकारी अधिकारीहरूका अनुसार यो अन्त्येष्टिमा डेढ देखि दुई करोड (१५ देखि २० मिलियन) मानिस सहभागी हुने अनुमान गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टि हुनेछ। इरानका छिमेकी देशहरू इराक, अफगानिस्तान र पाकिस्तानका नागरिकका साथै करिब ३० देशका प्रतिनिधिहरू यस समारोहमा सहभागी हुँदैछन्।

इरान र इजरायल-अमेरिका बीच ठूलो युद्ध चलिरहेको छ। युद्धकै क्रममा इरानका सबैभन्दा ठूला नेता खामेनी मारिएका थिए। अहिले इरानले उनको अन्त्येष्टिमा संसारकै सबैभन्दा धेरै मानिस जम्मा गरेर आफ्नो शक्ति देखाउन र बदलाको सन्देश दिन खोज्दैछ। खामेनीका छोरा मोज्तबा अहिले नयाँ नेता बनेका छन्, तर उनी यस कार्यक्रममा आउने-नआउने अझै पक्का छैन।

प्रतिक्रिया