
रुसले बिहीबार राति युक्रेनको राजधानी कीभमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी व्यक्ति घाइते भएका छन्। युक्रेनको आपतकालीन सेवा विभागका अनुसार आक्रमणको मुख्य लक्ष्य राजधानी कीभ थियो।
कीभका नगर प्रमुख (मेयर )भिटाली क्लिच्कोले शहरका विभिन्न स्थानमा लगातार ठूलो विस्फोट भएको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार उद्धारकर्मीहरूले भत्किएका भवनको भग्नावशेष हटाउँदै मानिसहरूको खोजी र उद्धार गरिरहेका छन्। साथै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ।
राष्ट्रपति जेलेन्स्कीले कीभका २० भन्दा बढी स्थानमा क्षति पुगेको जानकारी दिएका छन्। धेरैजसो क्षति सर्वसाधारण बसोबास गर्ने आवासीय भवनमा भएको छ। रुग्णबाहिनी अर्थात् एम्बुलेन्स केन्द्र, एक अनुसन्धान संस्था, अतिथिगृह र केही व्यवसायिक भवनहरू पनि प्रभावित भएका छन्।
रुसले यस आक्रमणमा ७० भन्दा बढी क्षेप्यास्त्र (मिसाइल), तीमध्ये धेरैजसो लामो दुरीको क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल), तथा करिब ५०० मानव रहित यान (ड्रोन )प्रयोग गरेको युक्रेनले जनाएको छ।
सबैभन्दा धेरै क्षति कीभको दार्नित्स्की जिल्लामा भएको छ। त्यहाँ नौ तले आवासगृह (अपार्टमेन्ट) भवनको एक भाग भत्किँदा धेरै मानिस भग्नावशेषमा फसेका छन्। उद्धार टोलीले अझै पनि हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। एक १५ वर्षीया किशोरी र उनका परिवारका सदस्यहरू पनि भग्नावशेषमा फसेको आशंका गरिएको छ।
यसैबीच, रुसको आक्रमणअघि युक्रेनले रुसको उफास्थित ठूलो तेल प्रशोधन केन्द्र, पेन्जा क्षेत्रको सैन्य उद्योग तथा मस्को नजिकको एक उपग्रह सञ्चार केन्द्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनले यी कारबाहीहरू रुसमाथि युद्ध अन्त्य गर्न दबाब बढाउने उद्देश्यले गरिएको बताएको छ।
अमेरिकाको एक अनुसन्धान संस्थाले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार, पाँच वर्ष पुग्न लागेको यस युद्धमा दुवै पक्षका गरी २० लाखभन्दा बढी सैनिक हताहत भएका छन्। अध्ययनले रुसी पक्षको क्षति युक्रेनको तुलनामा निकै बढी रहेको उल्लेख गरेको छ। युद्ध अझै रोकिएको छैन, र दुवै देशले आक्रमण तथा प्रतिआक्रमणलाई निरन्तरता दिएका छन्।
प्रतिक्रिया