ट्रम्पको दाबी: ‘दोहामा निकै राम्रो बैठक भयो, इरानको आणविक कार्यक्रमबारे प्रगति हुँदैछ’

पाकिस्तान र कतार बने मध्यस्थ, तनाव घटाउने प्रयास तीव्र

इनेप्लिज २०८३ असार १७ गते १४:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको अप्रत्यक्ष वार्ता निकै सकारात्मक रहेको बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै पक्षबीच भएका बैठकहरू “धेरै राम्रो” भएको दाबी गरे। उनका अनुसार इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने विषयमा पनि राम्रो प्रगति भइरहेको छ।

ट्रम्पले भने, “अहिलेसम्मको अवस्था हेर्दा इरानको आणविक निःशस्त्रीकरण राम्रोसँग अगाडि बढिरहेको छ। उनीहरूबीच धेरै राम्रो बैठक भएको छ। अब के हुन्छ, त्यो हामी हेर्नेछौँ।”

उनले केही समयअघि अमेरिका र इरानबीच भएको सैन्य तनावको पनि उल्लेख गर्दै भने, “हामीले उनीहरूलाई निकै कडा रूपमा जवाफ दिएका थियौँ। तर अहिले हाम्रो सम्बन्ध राम्रो दिशातर्फ अघि बढिरहेको छ।”

यसपटक दोहामा भएको वार्तामा अमेरिकी र इरानी अधिकारीहरू प्रत्यक्ष रूपमा एउटै टेबलमा बसेर छलफल गरेका छैनन्। यसको सट्टा पाकिस्तान र कतारका मध्यस्थकर्ताले दुवै पक्षका भनाइ एक-अर्कासम्म पुर्‍याउने जिम्मेवारी निभाइरहेका छन्। यसरी अप्रत्यक्ष संवादमार्फत दुवै देशबीचको तनाव कम गर्ने प्रयास भइरहेको छ।

यो वार्ता गत साता भएको अर्को सैन्य झडपपछि सुरु गरिएको हो। दुवै देशबीच फेरि तनाव बढेपछि त्यसलाई नियन्त्रणमा ल्याउन कूटनीतिक पहल अघि बढाइएको हो। विश्लेषकहरूका अनुसार अहिलेको संवाद सफल भएमा भविष्यमा प्रत्यक्ष वार्ताको बाटो पनि खुल्न सक्छ।

यसैबीच, ट्रम्प नयाँ ‘एयर फोर्स वन’ विमानबाट नर्थ डकोटा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग फेरि बोले। उनले इरानले पहिलेभन्दा धेरै सकारात्मक कदम चालेको दाबी गर्दै भने, “इरान धेरै अगाडि आएको छ। मलाई लाग्छ, अहिले उनीहरू ठीक अवस्थामा छन्।”

यद्यपि वार्ताबाट कुनै अन्तिम सम्झौता भएको घोषणा गरिएको छैन। दुवै पक्षले वार्तालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया