कतारमा अमेरिका–इरान वार्ता सुरु, हर्मुज जलडमरूमध्यको तनाव अझै कायम

इनेप्लिज २०८३ असार १७ गते १०:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय समाचार । अमेरिका र इरानबीच भएको युद्धपछि शान्ति कायम गर्ने प्रयासस्वरूप दुवै देशका प्रतिनिधिमण्डल यस साता कतार पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुशनर मंगलबार कतारको राजधानी दोहा पुगेका हुन्।

उनीहरूले इरानसँग प्रत्यक्ष वार्ता भने गर्ने छैनन्। कतारका अधिकारीहरूले दुवै पक्षबीच सन्देश आदानप्रदान गराउने मध्यस्थको भूमिका निभाइरहेका छन्।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीका अनुसार अहिले उच्चस्तरीय प्रत्यक्ष वार्ताको योजना छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पनि निकट भविष्यमा अमेरिकी पक्षसँग कुनै प्रत्यक्ष भेटघाट तय नभएको स्पष्ट पारे। उनका अनुसार दोहामा कतारसँग इरानको रोकिएको सम्पत्ति फुकुवा गर्ने लगायत समझदारी कार्यान्वयनबारे छलफल हुनेछ।

यस महिनाको सुरुमा अमेरिका र इरानबीच एक अस्थायी सम्झौता भएको थियो। त्यसअनुसार इरानले आफ्नो समृद्ध युरेनियमको भण्डार घटाउने, अमेरिकाले इरानमाथिका केही तेलसम्बन्धी प्रतिबन्ध हटाउने, तथा हर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने सहमति भएको थियो। साथै, थप विस्तृत सम्झौताका लागि दुवै पक्षलाई ६० दिनको समय दिइएको छ।

इरानका राष्ट्रपति मसुद पेजेशकियनले कतारले इरानको ६ अर्ब अमेरिकी डलर बराबरको रोकिएको सम्पत्ति फुकुवा गर्ने तयारी गरेको बताएका छन्। अमेरिकी अधिकारीका अनुसार उक्त रकम इरानी नागरिकका लागि अमेरिकी खाद्यान्न खरिद गर्न प्रयोग गरिनेछ।

हर्मुज जलडमरूमध्य विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। युद्धअघि विश्वभर ढुवानी हुने करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुन्थ्यो। तर इरानका आक्रमण र धम्कीका कारण तेल बोकेका जहाजहरू रोकिँदा विश्व ऊर्जा बजारमा ठूलो असर परेको थियो।

गत साता हर्मुज क्षेत्रमा फेरि तनाव बढेको थियो। इरानले दुईवटा जहाजमाथि आक्रमण गरेको, जसमा कतारी कच्चा तेल बोकेको एउटा ट्यांकर पनि परेको बताइएको छ। त्यसको जवाफमा अमेरिकाले हवाई आक्रमण गरेको थियो। साथै, आइतबार इरानले बहराइन र कुवेततर्फ मानव रहित यान (ड्रोन) तथा क्षेप्यास्त्र आक्रमणसमेत गरेको थियो।

युद्ध रोकिए पनि दुवै देशबीच अझै अविश्वास कायम छ।

प्रतिक्रिया