अमेरिकामा तेस्रोलिङ्गी( ट्रान्सजेन्डर )खेलाडीबारे सर्वोच्चको कडा निर्णय: अब महिला टोलीमा प्रतिस्पर्धा गर्न नपाइने

इनेप्लिज २०८३ असार १६ गते १४:१४ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले मङ्गलबार एक ऐतिहासिक र महत्त्वपूर्ण फैसला सुनाएको छ। 

अदालतले राज्यहरूलाई ट्रान्सजेन्डर (लैङ्गिक पहिचान फेरेका) विद्यार्थीहरूलाई विद्यालय र कलेजका छात्राहरूको खेलकुद टोलीमा सहभागी हुनबाट रोक्ने अधिकार दिएको छ।

हालैका वर्षहरूमा अमेरिकाका रूढिवादी राज्यहरूमा यस्ता कानूनहरू बनाउने क्रम निकै बढेको छ। 

यो फैसलाले वेस्ट भर्जिनिया र आईडाहो राज्यमा जस्तै कानून लागू गरेका अमेरिकाका आधाभन्दा बढी राज्यहरूलाई ठूलो राहत मिलेको छ। अदालतको यो निर्णयपछि अब ती राज्यहरूमा  तेस्रोलिङ्गी (ट्रान्सजेन्डर छात्रा)लाई महिला खेलकुद टोलीमा समावेश नगर्ने नियम कायम रहनेछ।

अदालतका न्यायाधीशहरूको बहुमतले खेलकुदमा ‘जैविक महिला’ (जन्मजात महिला) खेलाडीहरूका लागि निष्पक्ष वातावरण सुनिश्चित गर्न यस्ता कानूनहरू आवश्यक रहेको तर्कलाई समर्थन गरेको छ। यो फैसला एलजिविटिक्यू अधिकारका पक्षधरहरूका लागि निकै ठूलो धक्का मानिएको छ।

स्मरण रहोस्, पछिल्लो एक वर्षमा सर्वोच्च अदालतले तेस्रोलिङ्गी  बालबालिकाहरूका लागि हर्मोन उपचारमा रोक लगाउने राज्यहरूको अधिकारलाई पनि सदर गरिसकेको छ। 

त्यस्तै, तेस्रोलिङ्गी (ट्रान्सजेन्डर )अमेरिकीहरूलाई सेनामा सेवा गर्न रोक लगाउने र राहदानीमा जन्मजात लैङ्गिकता उल्लेख गर्नुपर्ने जस्ता सरकारी निर्णयहरूलाई पनि अदालतले अनुमति दिइसकेको छ।

यो मुद्दा मुख्यतया आइडाहो र वेस्ट भर्जिनियासँग सम्बन्धित भए पनि यसको असर अमेरिकाका कम्तीमा २७ राज्यहरूमा पर्नेछ, जहाँ पहिले नै यस्ता कानूनहरू बनिसकेका छन्। 

यी राज्यहरूका अधिकारीहरूका अनुसार यो नियमले खेलकुदमा सुरक्षा र निष्पक्षता कायम गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया