
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिका र इरानबीचको महत्वपूर्ण वार्ताका लागि अमेरिकी टोली कतारको राजधानी दोहातर्फ प्रस्थान गरेको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूले भने दोहामा अमेरिकी र इरानी टोलीबीच कुनै वार्ता नहुने दाबी गरेका छन्। यसले दुवै पक्षबाट फरक–फरक जानकारी सार्वजनिक भएको देखिएको छ।
ह्वाइट हाउसको ओभल अफिस(कार्यालय)मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी टोली दोहामा इरानको आणविक (न्यूक्लियर) कार्यक्रमबारे छलफल गर्न जाँदै रहेको बताए। उनका अनुसार टोली सम्भवतः प्रस्थान गरिसकेको छ वा जानका लागि अन्तिम तयारीमा छ।
ट्रम्पले भने, “उनीहरू सायद प्रस्थान गरिसकेका छन्, वा अब केहीबेरमै जाने तयारीमा छन्। दोहामा हुने बैठक महत्वपूर्ण हुन पनि सक्छ या नहुन पनि सक्छ। यसको नतिजा के हुन्छ, हामीले छिट्टै थाहा पाउनेछौं।”
राष्ट्रपति ट्रम्पले वर्तमान अवस्थाबारे टिप्पणी गर्दै युद्ध लगभग सैन्य रूपमा अन्तिम चरणमा पुगेको दाबी पनि गरे। उनले अब मुख्य ध्यान इरानलाई आणविक हतियार बनाउनबाट रोक्नमा केन्द्रित रहेको स्पष्ट पारे।
उनले भने, “हाम्रो उद्देश्य निकै स्पष्ट छ। हामी इरानको आणविक कार्यक्रमलाई निष्क्रिय बनाउन चाहन्छौं। इरानसँग आणविक हतियार हुनु हुँदैन, र उनीहरूसँग त्यस्तो हतियार हुने छैन।”
अमेरिका र इरानबीच लामो समयदेखि आणविक कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ। यदि दोहामा वार्ता सफल भयो भने यसले क्षेत्रीय तनाव कम गर्न र भविष्यका सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने छ।
प्रतिक्रिया