चिनियाँ मूलका स्वघोषित निर्वासित अर्बपतिलाई न्यूयोर्कमा ३० वर्षको कारागार सजाय, ८८९ मिलियन डलर फिर्ता गर्न आदेश

इनेप्लिज २०८३ असार १६ गते १:११ मा प्रकाशित

अमेरिकामा बस्दै आएका चिनियाँ मूलका स्वघोषित निर्वासित अर्बपति गुओ वेन्गुईलाई ठूलो आर्थिक ठगी गरेको अभियोगमा अमेरिकी अदालतले ३० वर्ष कारागार सजाय सुनाएको छ। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटन अदालतकी न्यायाधीश एनालिसा टोर्सले सोमबार यो फैसला सुनाएकी हुन्।

एपीका अनुसार अदालतका अनुसार गुओले सन् २०१८ देखि २०२३ सम्म विश्वभरका एक हजारभन्दा बढी मानिसबाट करोडौं डलर ठगी गरेका थिए। उनले चीनमा लोकतन्त्र ल्याउने अभियानलाई सहयोग गर्ने भन्दै समर्थकहरूबाट ठूलो रकम उठाएका थिए। तर त्यो पैसा जनताको हितमा प्रयोग नगरी आफ्नै विलासी जीवनशैलीमा खर्च गरेको अदालतले ठहर गरेको छ।

फैसलाका क्रममा न्यायाधीशले धेरै पीडितले पठाएका पत्र पढेर सुनाएकी थिइन्। ती पत्रमा धेरैले आफ्नो जीवनभरको बचत गुमाएको, मानसिक तनाव भोगेको र गलत लगानीका कारण परिवारबाट समेत आलोचना सहनुपरेको उल्लेख गरेका थिए। अदालतले गुओले आफ्नो गल्ती स्वीकार नगरेको र आफूले कसैलाई नोक्सान नपुर्‍याएको दाबी गर्दै आएको टिप्पणी पनि गरेको छ।

अदालतले गुओलाई पीडितहरूको क्षतिपूर्तिका लागि ८८९ मिलियन अमेरिकी डलरफिर्ता गर्न पनि आदेश दिएको छ। गुओविरुद्ध साक्षी दिएका पीडितमध्ये एक वे चेनले यो ठगीका कारण आफ्नो र आफ्नो परिवारको जीवन नै तहसनहस भएको बताएका थिए।

अभियोजन पक्षका अनुसार गुओले आफ्नै नियन्त्रणमा रहेका जिटिभी मिडिया इङ्क , हिमालया फार्म एलायन्स र हिमालया एक्सचेन्जजस्ता संस्थामार्फत एक अर्ब डलरभन्दा बढी लगानी संकलन गरेका थिए। त्यसबाट उनले महल, याट, खेलकुद गाडी (रेसिङ का)र, महँगा कपडा र विलासी सामग्री खरिद गरी अत्यन्तै भव्य जीवन बिताएका थिए।

यद्यपि गुओका वकिलहरूले भने उनी चीनको कम्युनिष्ट (बामपन्थी)सरकारको राजनीतिक प्रतिशोधका शिकार बनेको दाबी गरेका छन्। चीनले उनीमाथि लगाएका बलात्कार, अपहरण, घुसखोरीलगायतका आरोपहरू गुओले सधैं अस्वीकार गर्दै आएका छन्। तर अमेरिकी अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई दोषी ठहर गर्दै कडा सजाय सुनाएको हो।

तस्बिर : कृतिम बुद्धिमत्ता (एआइ)

प्रतिक्रिया