
दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पका कारण हालसम्म १,७०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। यो भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दी (१०० वर्ष) यताकै सबैभन्दा ठूलो र शक्तिशाली धक्का हो। भूकम्पका कारण अहिलेसम्म कम्तीमा १,७१९ जनाको मृत्यु भइसकेको कुरा त्यहाँका सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।
विशेष गरी भेनेजुएलाको राजधानी ‘काराकास’ र ‘ला गुइरा’ क्षेत्रमा यसले सबैभन्दा ठूलो क्षति पुर्याएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाको एउटा प्रतिवेदन अनुसार भूकम्पले ५८,००० भन्दा बढी भवनहरू या त पूर्ण रूपमा भत्काएका छन् या घरहरुमा ठूलो क्षति पुगेको छ। अहिले हजारौँ मानिसहरू घरबारविहीन भएका छन् र उनीहरूसँग ओत लाग्ने कुनै ठाउँ छैन।
यो गहिरो रोदन र दुखका बीच केही आशाका किरणहरू पनि देखिएका छन्। उद्धार टोलीहरूले चौबीसै घण्टा भग्नावशेषहरू पन्छाउँदै गर्दा तीन दिनभन्दा बढी समयदेखि ढुङ्गा र माटोको थुप्रोभित्र थुनिएका एक अबोध शिशु र एक महिलालाई जीवितै उद्धार गर्न सफल भएका छन्। यो चमत्कारले निराश भएका उद्धारकर्ताहरूमा नयाँ उत्साह थपिदिएको छ।
तर, भेनेजुएलाको अवस्था पहिलेदेखि नै आर्थिक र राजनीतिक समस्याका कारण कमजोर थियो। यहाँका अस्पतालहरू घाइतेहरूले भरिएका छन् र चिकित्सक हरूलाई उपचार गर्न निकै धौधौ परिरहेको छ।
यस्तो अवस्थामा विदेशी उद्धार टोली र राहत सामग्रीहरू भेनेजुएला आइपुग्न थालेका छन्, जसले थोरै भए पनि राहत मिल्ने आशा जगाएको छ।
अर्कोतर्फ, त्यहाँका विपक्षी नेताहरूले सरकारले वास्तविक क्षतिको विवरण लुकाउन खोजेको आरोप लगाएका छन्। समय बित्दै जाँदा भग्नावशेषभित्र अड्किएकाहरूलाई बचाउने चुनौती झन्-झन् थपिँदै गएको छ।
प्रतिक्रिया