नेपाली माटोका आत्मीय साधक स्कट म्याकलेनन: मानवताको सीमाहीन अनुकरणीय उदाहरण

बेद प्रसाद घिमिरे २०८३ असार १५ गते २१:२७ मा प्रकाशित

मानिसको महानता उसको जन्मभूमिले होइन, कर्मभूमिले मापन गर्छ। कुनै व्यक्तिले आफू जन्मेको देशभन्दा टाढाको भूमिलाई आफ्नै घर सम्झेर त्यहाँका पीडित, गरिब र असहाय नागरिकका लागि आफ्नो जीवन समर्पण गर्छ भने त्यो केवल समाजसेवा होइन, मानवताको सर्वोच्च रूप हो। अमेरिकी नागरिक स्कट म्याकलेनन त्यस्तै दुर्लभ व्यक्तित्व हुनुहुन्थ्यो, जसले नेपाललाई केवल घुम्ने गन्तव्य होइन, जीवनको उद्देश्य बनाउनुभयो।

नेपालका दुर्गम गाउँ, हिमाली बस्ती र गरिब समुदायको पीडाले उहाँको मन छोयो। धेरै विदेशीहरू नेपालका हिमाल र प्राकृतिक सौन्दर्य हेरेर फर्किए, तर स्कट म्याकलेनन नेपाली जनताको दुःखसँग गाँसिनुभयो। उहाँले देख्नुभएको गरिबी, अशिक्षा र स्वास्थ्य सेवाको अभावलाई परिवर्तन गर्ने अभियानमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुभयो।

उहाँको सबैभन्दा ठूलो योगदान महिला सशक्तीकरण हो। घरेलु हिंसाबाट पीडित महिलालाई आश्रय, आत्मसम्मान र आत्मनिर्भर जीवन दिने उद्देश्यले स्थापना गरिएको ‘हेर फार्म नेपाल’ केवल एउटा संस्था होइन, हजारौँ महिलाको नयाँ जीवनको सुरुवात हो। महिलाको नेतृत्व, सीप विकास, आधुनिक कृषि, सञ्चार र उद्यमशीलतालाई जोडेर उहाँले विकासको नयाँ नमुना प्रस्तुत गर्नुभयो।

‘द माउन्टेन फन्ड’ मार्फत उहाँले रसुवा, धादिङ, हुम्लालगायतका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्नुभयो। राज्यको पहुँच कमजोर भएका ठाउँमा उहाँले आशा र भरोसाको दियो बाल्नुभयो। सेवा भनेको प्रचारका लागि होइन, परिवर्तनका लागि हो भन्ने सन्देश उहाँको सम्पूर्ण जीवनले दिएको छ।

स्कट म्याकलेननको अर्को विशेषता उहाँको सरल जीवनशैली थियो। उहाँ कुनै ठूलो दाताको रूपमा टाढाबाट निर्देशन दिने व्यक्ति हुनुहुन्नथ्यो। नेपाली गाउँमा स्थानीयसँगै श्रम गर्ने, उनीहरूसँगै बस्ने, दुःख–सुख बाँड्ने र उनीहरूकै परिवारको सदस्यजस्तै बन्ने उहाँको व्यवहारले उहाँलाई नेपालीहरूको मनमा सदाका लागि अमर बनाएको छ।

जीवनको अन्तिम चरणमा क्यान्सर रोगले ग्रस्त भएपछि उहाँ उपचारका लागि आफ्नो जन्मदेश अमेरिका फर्किनुभयो। तर उहाँको मन भने अन्तिम क्षणसम्म नेपालमै थियो। अस्पतालको शय्याबाट समेत उहाँले नेपालमा सञ्चालित संस्थाका गतिविधिबारे चासो लिइरहनुभयो र सेवा अभियानलाई निरन्तर अघि बढाइरहनुभयो। अन्ततः अमेरिकामै उहाँको दुःखद निधन भयो। यद्यपि उहाँको शरीर अमेरिकाको भूमिमा बिलीन भए पनि उहाँका कर्म, योगदान र सम्झनाहरू सधैँका लागि नेपाली माटोमै अमिट बनेर रहनेछन्।

आज विकास र समाजसेवाको नाममा प्रचारमुखी गतिविधि बढिरहेका बेला स्कट म्याकलेननको जीवनले एउटा गहिरो सन्देश दिन्छ— साँचो सेवा सीमाना, भाषा, जात वा राष्ट्रियताभन्दा माथि हुन्छ। उहाँले नेपाललाई दिएको प्रेम र समर्पण प्रत्येक नेपालीका लागि प्रेरणाको स्रोत हो।

स्कट म्याकलेनन आज भौतिक रूपमा हामीबीच हुनुहुन्न। तर उहाँले रोपेको मानवताको बीउ, महिलामा जगाएको आत्मविश्वास, गाउँ–गाउँमा पुर्‍याएको आशाको उज्यालो र नेपालीहरूप्रतिको अथाह माया कहिल्यै मर्ने छैन। उहाँको देहान्त अमेरिकामा भए पनि उहाँको आत्मीयता, कर्म र इतिहास सदैव नेपाली माटोमै जीवित रहनेछ।

प्रतिक्रिया