डीएलए काठमाडौँको सचिवमा भारी मतसहित भरत घिमिरे विजयी

इनेप्लिज २०८३ असार १५ गते १०:२६ मा प्रकाशित

काठमाडौँ

नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी कानून व्यवसायीहरूको छाता संगठन ‘नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन’ (डीएलए) काठमाडौँ जिल्ला कार्यसमितिको महत्वपूर्ण सचिव पदमा अधिवक्ता भरत कुमार घिमिरे शानदार मतका साथ विजयी हुनुभएको छ। सम्पन्न पाँचौँ अधिवेशनको अन्तिम मत परिणामअनुसार घिमिरे अन्य प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अत्यधिक लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो।

मतगणनाको अन्तिम परिणामअनुसार सचिव पदका मुख्य दाबेदार घिमिरेले ३२९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी लोकहरी पौडेलले २३६ मत ल्याउनुभएको थियो भने अन्य प्रतिस्पर्धीहरू विवेक साउदले १६६ मत र देवीराम उपाध्याय (देव) ले ९८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।


सचिव पदमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अधिवक्ता घिमिरेले काठमाडौँ जिल्लाका सम्पूर्ण कानून व्यवसायीहरूको साझा हकहित संरक्षण, व्यावसायिक सुदृढीकरण तथा न्यायपालिकाको गरिमा उच्च राख्न आफ्नो कार्यकाल पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो नेतृत्व प्रभावकारी रहने विश्वास उहाँले व्यक्त गर्नुभयो।

घिमिरेको यस विजयपश्चात्नेपाली कांग्रेसका केन्द्रीय नेताहरू, वरिष्ठ अधिवक्ताहरू र शुभचिन्तकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा शिव प्रसाद कँडेल (२५५ मत), उपाध्यक्षमा विष्णु प्रसाद अर्याल (३०५ मत) र कोषाध्यक्षमा शशिकला मरहट्टा (५५२ मत) निर्वाचित हुनुभएको छ। नवनिर्वाचित सचिव घिमिरेले आगामी दिनमा कार्यसमितिका अन्य पदाधिकारीहरूसँग सहकार्य गर्दै संगठनको गरिमालाई अझ प्रगाढ बनाउने बताउनुभएको छ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया