
अमेरिकी सर्वोच्च अदालतले सोमबार एक महत्त्वपूर्ण निर्णय सुनाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेको छ।
यो निर्णयसँगै ट्रम्पले लेखक ई. जीन क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने तल्लो अदालतको फैसला अब अन्तिम भएको छ। यसले ट्रम्पको कानुनी चुनौतीलाई पूर्णविराम लगाइदिएको छ।
के थियो घटना?
सन् २०१९ मा लेखक ई. जीन क्यारोलले सन् १९९० को दशकमा न्युयोर्कको एक पसलमा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
ट्रम्पले यी आरोपहरूलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका थिए र उनले क्यारोललाई ‘झुठो’ भन्दै आएका थिए। तर, सन् २०२३ मा बसेको जूरी (न्याय समितिका सदस्यहरू) ले क्यारोलको कुरामा विश्वास गर्यो। जूरीले ट्रम्पलाई यौन दुर्व्यवहार र मानहानि गरेको दोषी ठहर गर्दै ५० लाख डलर तिर्नुपर्ने फैसला सुनाएको थियो।
अदालतको अन्तिम निर्णय :
ट्रम्पले यो फैसलालाई उल्ट्याउन सर्वोच्च अदालत गुहारेका थिए। उनले यो मुद्दा निष्पक्ष नभएको र अदालतले अनावश्यक प्रमाणहरूलाई स्थान दिएको थियो भनि तर्क गरेका थिए ।
तर, सर्वोच्च अदालतले कुनै पनि थप सुनुवाइ नगरी तल्लो अदालतको फैसला नै सदर गरिदियो। यसको अर्थ ट्रम्पसँग अब यो ५० लाख डलरको फैसला बदल्ने कुनै कानुनी बाटो बाँकी छैन।
क्यारोलको खुसी :

यस जीतपछि ई. जीन क्यारोलले निकै भावुक हुँदै आफ्नो लेखिन्, “हामीले जित्यौँ! यो जीत संसारका हरेक महिलाका लागि हो।”
उनकी वकिल रोबर्टा क्याप्लानले पनि यो निर्णयले न्याय प्रणालीमा सबै समान छन् भन्ने कुरा पुनः पुष्टि गरेको बताएकी छिन्।
ट्रम्पको प्रतिक्रिया :
अर्कोतिर, ट्रम्पका वकिलहरूले यो मुद्दालाई राजनीतिक प्रतिशोध र ‘झुठो’ भनेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूविरुद्धको यो कानुनी लडाइँलाई आफ्नो मिसनमा बाधा पुर्याउने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया