
जर्मनीको उत्तरी सहर स्टाडेमा रहेको एक बाल तथा युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा ५ जनाको ज्यान गएको छ। घटनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, जसमा एक जनालाई गोली चलाएको मुख्य शंकास्पद व्यक्ति मानिएको छ।
प्रहरीका अनुसार घटना डान्कर्सस्ट्रासे सडकमा रहेको एक विशेष आश्रयस्थलमा भएको हो। यस केन्द्रमा गर्भवती महिला, साना बालबालिकासहितका युवा आमाहरू तथा अस्थायी बसोबासको आवश्यकता भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय प्रदान गरिन्छ।
एपिका अनुसार गोलीकाण्डमा केही अन्य व्यक्ति पनि घाइते भएका छन्। यद्यपि घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन।
घटनापछि ठूलो संख्यामा प्रहरी, आपतकालीन उद्धार टोली र एम्बुलेन्स (रुग्णबाहिनी)घटनास्थलमा पुगेका थिए। प्रहरीले तत्कालै सम्पूर्ण क्षेत्रलाई सुरक्षा घेराभित्र राखेको थियो।
एपिले जनाए अनुसार घटनास्थल नजिकै बस्ने स्थानीय बासिन्दा भिटाली मर्टेन्सले आफूले अचानक धेरै गोली चलेको आवाज सुनेको र केही समयमै प्रहरीले सम्पूर्ण क्षेत्र बन्द गरी सबैलाई टाढा जान निर्देशन दिएको बताए।
प्रहरीले सर्वसाधारणलाई अहिले कुनै खतरा नरहेको स्पष्ट पारेको छ। पक्राउ परेका दुवै व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। प्रहरीले गोलीकाण्ड किन भयो, कसरी भयो र यसको वास्तविक कारण के हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
जर्मनीमा बन्दुकसम्बन्धी कानुन अमेरिका भन्दा निकै कडा मानिन्छ। त्यसैले यस्ता सामूहिक गोलीकाण्डका घटना निकै कम हुने गर्छन्। तर कहिलेकाहीँ यस्ता दुःखद घटनाले देशलाई स्तब्ध बनाउने गरेका छन्।
स्टाडे सहरमा करिब ५० हजार मानिस बसोबास गर्छन्। यो सहर जर्मनीको प्रमुख सहर ह्याम्बर्गबाट करिब ४० किलोमिटर टाढा रहेको छ।
प्रतिक्रिया