थाई विमान परिचारिकाको कर्तुत: १२ वटा झोलामा लुकाएर हेरोइन तस्करी गर्दा अस्ट्रेलियामा पक्राउ

इनेप्लिज २०८३ असार १५ गते १०:४७ मा प्रकाशित

एक थाई विमान कम्पनी (एयरलाइन्स) की कर्मचारीलाई अस्ट्रेलियाको मेलबर्नमा १ किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध ‘हेरोइन’ भित्र्याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गएको बिहीबार ती २६ वर्षकी महिला आफ्नो कर्तब्यकै (ड्युटी) क्रममा एउटा अन्तर्राष्ट्रिय उडानबाट मेलबर्न विमानस्थल आइपुगेकी थिइन्। विमानस्थलमा उनको सामान जाँच गर्ने क्रममा शंका लागेपछि अस्ट्रेलियाली संघीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, एक्स-रे मेसिन(उपकरण) र अन्य गम्भीर जाँच गर्दा उनको साथमा रहेका १२ वटा कपडाका झोलाहरू (टोट ब्याग) को भित्री तहमा सेतो धुलो लुकाएको भेटिएको थियो। सुरुवाती परीक्षणमा उक्त धुलो हेरोइन भएको प्रमाणित भयो। बरामद गरिएको उक्त हेरोइनको बजार मूल्य झन्डै ५ लाख अस्ट्रेलियाली डलर बराबर रहेको बताइएको छ।

ती महिलालाई प्रतिबन्धित लागूऔषध आयात र ओसारपसार गरेको गम्भीर अभियोग लगाइएको छ। अस्ट्रेलियाको कानुन अनुसार यस अपराधमा बढीमा २५ वर्षसम्मको कारागार सजाय हुन सक्छ। उनलाई आउँदो सेप्टेम्बर महिनामा मेलबर्नको अदालतमा उपस्थित गराइनेछ।

अस्ट्रेलियाली प्रहरीका कार्यवाहक सेनापति सिमोन बुचरले आफ्नो पद वा समाजमा रहेको प्रतिष्ठाको दुरुपयोग गरेर लागूऔषध तस्करी गर्नेहरू विरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

प्रहरीले पक्राउ परेकी महिलाको नाम र उनी कार्यरत कम्पनीको नाम गोप्य राखे पनि थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ‘थाई एयरवेज’ ले सोमवार एउटा विज्ञप्ति जारी गर्दै आफ्नी एक कर्मचारी मेलबर्नमा पक्राउ परेको स्वीकार गरेको छ। प्रतिष्ठान(कम्पनी )ले यस घटनामा अनुसन्धानका लागि अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ।

थाई एयरवेजले आफ्ना कर्मचारीहरूलाई कुनै पनि प्रकारका लागूऔषध वा अवैध सामग्री ओसारपसार गर्न कडा प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै, दोषी पाइएमा ती कर्मचारी विरुद्ध कडा कानुनी कदम चालिने घोषणा गरेको छ।

साथै, कम्पनीले ती कर्मचारीको आधारभूत कानुनी अधिकारको रक्षाका लागि आवश्यक समन्वय समेत गरिरहेको जनाएको छ।

प्रतिक्रिया