
गत बुधबार भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि विश्वभरका देशहरूले राहत र उद्धारमा ठूलो सहयोग गर्न थालेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म २४ वटा देशले*भेनेजुएलालाई ५२१ टन राहत सामग्री, ८६ वटा खोजी तथा उद्धारमा प्रशिक्षित कुकुर (क्यानाइन युनिट)र २,७४१ भन्दा बढी उद्धार, खोज तथा सहयोगकर्मी पठाएका छन्।
ती सबै टोली स्थानीय सुरक्षाकर्मी र उद्धारकर्मीसँग मिलेर प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेका छन्।
सरकारी तथ्यांकअनुसार, बुधबार आएको दुईवटा शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा १,४३० जनाको मृत्यु भएको छ भने ३,२०० भन्दा बढी मानिस घाइते भएका छन्। हजारौँ परिवार घरबारविहीन बनेका छन् र धेरै मानिस अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।
यसैबीच, अमेरिकाको ओरेगन राज्य विश्वविद्यालयको युद्ध तथा प्राकृतिक विपद्पछिको क्षति अध्ययन गर्ने अनुसन्धान टोलीले.कोपर्निकस सेन्टिनेल–१ उपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन्।
उक्त प्रतिवेदनअनुसार भूकम्प प्रभावित क्षेत्रमा करिब ५८,८७० भवन पूर्ण रूपमा भत्किएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका हुन सक्ने अनुमान गरिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो प्रारम्भिक मूल्यांकन भएकाले आगामी दिनमा वास्तविक क्षतिको विवरण अझ स्पष्ट हुँदै जानेछ। तर हाल उपलब्ध उपग्रह तस्बिरले विनाशको भयावह अवस्था देखाएको उनीहरूको भनाइ छ।
यही अनुसन्धान टोलीले यसअघि पनि युक्रेन, गाजा, लेबनान र इरानमा भएका युद्ध तथा प्राकृतिक विपद्पछिको क्षति मूल्यांकन गर्न यस्तै उपग्रह प्रविधि प्रयोग गरिसकेको थियो।
भेनेजुएलामा अहिले उद्धार, राहत वितरण, घाइतेहरूको उपचार र हराइरहेका व्यक्तिको खोजी तीव्र गतिमा जारी छ। अन्तर्राष्ट्रिय सहयोग बढ्दै जाँदा प्रभावित नागरिकमा केही आशा पलाएको छ।
यद्यपि हजारौँ परिवार अझै सुरक्षित बासस्थान, खानेपानी, खाद्यान्न र स्वास्थ्य सेवाको प्रतीक्षामा छन्। सरकारले सबै प्रभावित क्षेत्रमा राहत पुर्याउन प्रयास जारी रहेको जनाएको छ।
प्रतिक्रिया