आणविक केन्द्रको अनुगमन गर्ने अमेरिकी दाबी इरानद्वारा सिधै अस्वीकार

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइलाई इरानले भन्यो 'हल्ला मात्र'

इनेप्लिज २०८३ असार ९ गते १४:०७ मा प्रकाशित

अमेरिका र इरानबीच मध्यपूर्वी युद्ध रोक्न कूटनीतिक प्रयास भइरहेकै बेला एउटा नयाँ विवाद बाहिर आएको छ। इरानले गत वर्ष युद्धमा भत्किएका आफ्ना संवेदनशील आणविक (न्यूक्लियर) केन्द्रहरूमा तत्काल कुनै पनि अन्तर्राष्ट्रिय टोलीलाई जाँच गर्न नदिने स्पष्ट पारेको छ। इरानको यो कडा अडानले भर्खरै सुरु भएको शान्ति प्रक्रियामा ठुलो शङ्का पैदा गरिदिएको छ।

यसअघि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले यसै हप्ताभित्र संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्थाका निरीक्षकहरूलाई आफ्ना आणविक केन्द्रहरू निरीक्षण गर्न दिन सहमति जनाएको दाबी गरेका थिए। तर, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले मंगलबार पत्रकार सम्मेलन गर्दै अमेरिकी दाबीको कडा खण्डन गरेका छन्।

प्रवक्ता बकाईले भने, “हामीले राष्ट्रसंघीय संस्थाका महानिर्देशकसँग कुनै बैठक गरेका छैनौँ। अमेरिकी र इजरायली सैन्य आक्रमणबाट क्षति पुगेका हाम्रा आणविक संरचनाहरूको अनुगमन गर्न दिने हाम्रो तत्काल कुनै योजना छैन।”

गत वर्ष अमेरिका र इजरायलले इरानका धेरै आणविक केन्द्रहरूमा शक्तिशाली हवाई आक्रमण गरेका थिए। तीमध्ये इरानको ‘इसफहान’ श हरमा रहेको आणविक केन्द्र सबैभन्दा मुख्य र चर्चामा रहेको ठाउँ हो।

सिबिएसन्यूजका अनुसार अमेरिका र पश्चिमा देशहरू त्यहाँको वास्तविक अवस्था र परमाणु गतिको जाँच गर्न चाहन्छन्। तर, इरानले अनुगमनको ढोका बन्द गरिदिएपछि शान्ति सम्झौताको भविष्यलाई लिएर विश्वभर फेरि चिन्ता सुरु भएको छ।

प्रतिक्रिया