
नाइजेरियाको उत्तर–मध्य क्षेत्रमा रहेको एक गाउँमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनापछि प्रहरी र आक्रमणकारीबीच गोली हानाहान भएको भए पनि हमलाकारीहरू भाग्न सफल भएका छन्।
प्रहरीका अनुसार आइतबार प्लाटो राज्यको बोक्कोस क्षेत्रमा पर्ने कावेल गाउँमा सशस्त्र समूहले अचानक आक्रमण गरेको थियो। घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो। प्रहरीको प्रतिकारपछि आक्रमणकारीहरू त्यहाँबाट भागेका थिए। हालसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।
एपीका अनुसार यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। पछिल्ला केही वर्षदेखि नाइजेरियाको यस क्षेत्रमा यस्ता हिंसात्मक घटना बारम्बार दोहोरिँदै आएका छन्।
प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोका अनुसार मृत्यु भएका व्यक्तिहरूको शव परिवारलाई अन्त्येष्टिका लागि जिम्मा लगाइएको छ। परिवारले पोस्टमार्टम (शव परीक्षण)*नगर्ने निर्णय गरेपछि शव तत्काल हस्तान्तरण गरिएको उनले बताए।
घटनापछि प्लाटो राज्यका गभर्नर कालेब मुत्फवाङले आपत्कालीन व्यवस्थापन तथा मानवीय सहायता निकायलाई पीडित र उनीहरूका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार नाइजेरियाको उत्तर–पूर्वी क्षेत्रमा वर्षौंदेखि जारी विद्रोहका कारण हजारौं मानिसको ज्यान गएको छ भने लाखौं नागरिक विस्थापित भएका छन्। देशको उत्तर–पश्चिम र उत्तर–मध्य क्षेत्रमा पनि सशस्त्र आपराधिक समूह सक्रिय रहेका कारण सर्वसाधारण असुरक्षित महसुस गरिरहेका छन्।
यसअघि पनि गत मार्च*महिनामा प्लाटो राज्यकै गारी या वाये गाउँमा रातिको समयमा भएको अर्को आक्रमणमा २० जनाको ज्यान गएको थियो। पछिल्ला घटनाले नाइजेरियामा सुरक्षा चुनौती अझै गम्भीर रहेको देखाएको छ।
सरकारले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। दोषीको पहिचान गरी कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइए पनि स्थानीय बासिन्दाले सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउन माग गरेका छन्।
तस्बिर : कृतिम बुद्धिमत्ता (एआइ )
प्रतिक्रिया