ह्वाइट हाउसको यूएफसि कार्यक्रममा आक्रमणको आरोपमा थप दुई पक्राउ, अभियुक्तको संख्या सात पुग्यो

इनेप्लिज २०८३ असार ९ गते १०:५० मा प्रकाशित

अमेरिकाको ह्वाइट हाउसमा यसै महिनाको सुरुमा आयोजना भएको युएफसि (अल्टिमेट फाइटिङ च्याम्पियनसिप)कार्यक्रममा आक्रमण गर्ने कथित योजनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ। यससँगै यस घटनामा अभियोग लाग्ने व्यक्तिको संख्या सात पुगेको छ।

अमेरिकी संघीय सरकारी वकिलका अनुसार मिजौरीका जोर्डन रिङ्कर र वासिङ्टन राज्यका विलियम ली फक्नरलाई पक्राउ गरिएको हो। उनीहरूले यसअघि पक्राउ परेका अन्य पाँच जनासँग मिलेर आक्रमणको योजना बनाएको आरोप लगाइएको छ।

अदालती कागजातअनुसार रिङ्करले अब्राहाम अल्भारेजनामका एक सह–आरोपीबाट १,२०० अमेरिकी डलर नगद लिएर उनलाई पम्प–एक्सन सटगन (छोटो बन्दुक)उपलब्ध गराएका थिए। साथै उनले क्यालिफोर्नियाका अर्का अभियुक्त ब्रायन रोआलाई वासिङ्टन डी.सी. पुग्न सहयोग गर्न १०० डलर पनि पठाएको अभियोजन पक्षले जनाएको छ।

अनुसन्धानकर्ताका अनुसार समूहले सुरुमा ह्वाइट हाउसको यूएफसि कार्यक्रममा आक्रमण गर्ने योजना बनाएको थियो। पछि उनीहरूबीच भएको सन्देश आदानप्रदानमा क्यान्सस सिटीमा हुने फिफा विश्वकपलाई सम्भावित लक्ष्य बनाउनेबारे पनि छलफल भएको उल्लेख गरिएको छ।

अभियोगपत्रमा रिङ्करले थ्री–डी प्रिन्टर प्रयोग गरेर मानव रहित यान (ड्रोन)का आवश्यक पार्टपुर्जा बनाउन सकिने दाबी गरेको उल्लेख छ। ती मानव रहित यान मा विस्फोटक राखेर आक्रमण गर्ने योजना रहेको अभियोजन पक्षको भनाइ छ। तर अनुसन्धानकर्तासँगको सोधपुछमा रिङ्करले आफूले कहिल्यै मानव रहित यान डिजाइन नगरेको र त्यसबारे पर्याप्त ज्ञान पनि नभएको बताएका छन्।

अर्का अभियुक्त फक्नरले टेलिग्राम नामक इन्क्रिप्टेड अर्थात् गोप्य सङ्केतमा रूपान्तरण गरिएको सन्देश अनुप्रयोग (एप)मार्फत अन्य सदस्यसँग मानव रहित यान (ड्रोन) सञ्चालन गर्ने क्षमता र विस्फोटक प्रयोग गर्ने उपायबारे विस्तृत छलफल गरेको आरोप छ।

उनले एकै पटक ४० वटा मानव रहित यान (ड्रोन )उडाउन सक्ने दाबी गरेको र ती मानव रहित यानमा १५५ मिलिमिटर तोपका गोला जडान गर्न सकिने विषयमा पनि कुरा गरेको अभियोजन पक्षले जनाएको छ।

एबिसीन्यूजका अनुसार यद्यपि हालसम्म अनुसन्धानकर्ताले यस घटनासँग सम्बन्धित कुनै मानव रहित यान वा विस्फोटक बरामद गरेका छन् वा छैनन् भन्ने कुरा स्पष्ट भएको छैन।

यस षड्यन्त्रबारे प्रहरीलाई पहिलो जानकारी ओहायोका टाइसेन प्रपरका आमाले दिएकी थिइन् । उनले आफ्नो छोराले धेरै हतियार जम्मा गरेको र अन्तार्जाल (इन्टरनेट)मा शंकास्पद व्यक्तिसँग खतरनाक कुराकानी गरिरहेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।

त्यसपछि एफबीआईले प्रपरको घुम्तीयन्त्र (मोबाइल) र सिग्नल एपमा भएका सन्देशहरूको अनुसन्धान गर्दा अन्य व्यक्तिहरूको संलग्नता पनि पत्ता लागेको थियो। अनुसन्धानका क्रममा एक समूहले देशमा अशान्ति फैलाउने र राजनीतिक रूपमा दुवै पक्षले समर्थन गर्न सक्ने व्यक्तिलाई निशाना बनाउने विषयमा पनि छलफल गरेको अभियोजन पक्षले अदालतमा दाबी गरेको छ।

यस मुद्दाको अनुसन्धान अझै जारी रहेको छ। हालसम्म अभियोगहरू अदालतमा दर्ता भएका भए पनि, अन्तिम फैसला नभएसम्म सबै अभियुक्तहरू कानुनी रूपमा निर्दोष मानिन्छन्।

प्रतिक्रिया