
नेकपा एमालेका बलिया नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले सुर्खेतबाट नाटकीय रूपमा पक्राउ गरेपछि राजनीतिक वृत्त तातिएको छ। हाल उनी ललितपुरको पुल्चोक हिरासतमा छन् र विशेष अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ।
तर, यो प्रक्राउविरुद्ध पौडेलकी पत्नीले सर्वोच्च अदालतमा ‘बन्दी प्रत्यक्षीकरण’ रिट दायर गरेकी छिन्। उनले आफ्ना पतिलाई कुनै प्रमाणविना, केवल राजनीतिक प्रतिशोधका आधारमा पक्रेको दाबी गर्दै तत्काल रिहाइको माग गरेकी छिन्।
सम्पत्ति शुद्धीकरण विभागको दाबी अनुसार पौडेलले अर्थमन्त्री हुँदा शक्तिको दुरुपयोग गरी करोडौँ रुपैयाँ गैरकानुनी रूपमा कमाएका छन्। बिचौलिया दीपक भट्टसँग मिलेर श्रीराम टोबाको कम्पनीको ३० करोड बराबरको सेयर सित्तैमा लिएको, हिमालयन रिइन्स्योरेन्सको अनुमति पत्र (लाइसेन्स )बाँड्दा आर्थिक लाभ लिएको र बुटवलमा अर्कैको नाममा ३५ बिघा जग्गा लुकाएको जस्ता गम्भीर आरोप उनीमाथि छ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको आकस्मिक बैठकले यो गिरफ्तारीलाई सरकारको नियतवश गरिएको ‘राजनीतिक प्रतिशोध’ भनेको छ। विना तथ्य र प्रमाण केवल बद्नाम गर्न नेता पौडेललाई समातिएको भन्दै एमालेले आक्रोश पोखेको छ। दलले अदालतको निर्णयप्रति असहमति जनाउँदै अब सरकारविरुद्ध देशव्यापी ‘भण्डाफोर अभियान’ र राजनीतिक प्रतिरोध गर्ने घोषणा गरिसकेको छ।
प्रतिक्रिया