लघुकथा

“सर, नमस्कार ।”
नवनियुक्त अधिकृतले मेरो कार्यकक्षमा छिरेर दुवै हात जोड्दै अभिवादन गरे ।
“नमस्कार ! बस्नुस् ।”
उनी कुर्सीको छेउमा उभिइरहे ।
“मेरो सिटरोलमा प्रमाणीकरणका लागि हजुरको दस्तखत चाहिने रहेछ, सर ।”
मैले उनको हातबाट फाराम लिएँ । फारामका महलहरू एक-एक गर्दै हेर्दै गएँ । नाम, ठेगाना, शैक्षिक योग्यता, नागरिकता
नम्बर सबै मिलेको थियो ।
फारमको पुछारतिर पुगेपछि म रोकिएँ ।
‘इच्छाइएको व्यक्तिको नाम’ भन्ने महलमा ‘गम कुमारी’ लेखिएको थियो । इच्छाइएको व्यक्तिसँगको नाता भन्ने महलमा
‘आमा’ लेखिएको थियो ।
त्यसको तल ‘विवाहित भए पति/पत्नीको नाम’ भन्ने महलमा ‘विवाहित’ लेखिएको थियो ।
मैले चस्मामाथिबाट उनलाई हेरेँ ।
“तपाईंकी श्रीमतीको नाम ‘विवाहित’ हो ?” मैले सोधेँ ।
लजाउँदै उनले भने, “होइन सर, ‘चुनीमाया’ हो ।”
“अनि, किन नाम नलेख्नुभएको त ?”
मैले फेरि सोधेँ, “इच्छाइएको व्यक्तिको नाममा किन आमाको नाम राख्नुभएको ? श्रीमतीको नाम किन नराख्नुभएको ?”
उनको नजर भुइँतिर झर्यो ।
“विवाह दर्ता भएको छैन, सर ।”
“किन?”
“लभ म्यारिज गरेको। घरकाले मानेका छैनन् । उनीहरूले मेरो शेषपछि मेरो सम्पत्ति चुनीमायाले पाओस् भन्ने चाहँदैनन्
।”
मैले उनको फारम प्रमाणित गरिनँ ।
उनी निस्प्रभ अनुहारले उभिइरहे ।
“घरले मानेन भनेर विवाह नहुने त होइन नि ।” मैले फाराम बन्द गरिदिएँ ।
उनको खिन्न अनुहार देखेर मलाई टिठ लाग्यो ।
त्यसै बेला कार्यकक्षमा अर्को शाखाका आइपुगे । अरू मान्छेका अगाडि व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्ने भएकाले
हाम्रो कुराकानी त्यहीँ रोकियो । तर, मैले उनलाई कानमा खुसुक्क केही कुरा भनेँ र पठाएँ ।
दुई हप्तापछि उनी फेरि मेरो कार्यकक्षमा टुप्लुक्क देखा परे ।
यसपटक उनको चाल पहिलेभन्दा हलुका थियो ।
“सर।”
मैले मुस्कुराउँदै फाराम लिएँ ।
‘विवाहित भए पति/पत्नीको नाम’ मा चुनीमाया लेखिएको थियो ।
‘इच्छाइएको व्यक्तिको नाम’ मा पनि चुनीमाया नै लेखिएको थियो ।
सँगै विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि थियो ।
“पहिला किन नल्याउनुभएको त?”
उनले कागजको कुनो सुम्सुम्याए।
“घरले मानेकै थिएन, सर ।”
“अनि अहिले ?”
उनी हाँसे।
“त्यो दिन हजुरले भनेको कुरा घरमा सुनाएँ नि, सर ।”
“के कुरा ?”
æहजुरले भनेअनुसार नै मैले आमाबालाई ‘इच्छाइएको व्यक्तिको नाममा आफूभन्दा पछि मर्ने व्यक्तिको नाम राख्नुपर्छ,
मेरो भन्दा त तपाईंहरूको मृत्यु पहिला हुन्छ होला । अनि मेरो सम्पत्ति ततेर्न तपाईंहरूलाई कसरी इच्छाइएको व्यक्ति
बनाउने त मैले ?’ भनेँ ।
भोलिपल्टै ‘हिँड् विवाह दर्ता गर्न’ भनेर भन्नुभयो, सर ।”
मैले सिटरोलतिर हेरेँ र प्रमाणीकरणको दस्तखत गरिदिएँ ।
प्रतिक्रिया