“अ-विधवा”लाई नियाल्दा

इनेप्लिज २०८३ असार ९ गते ०:२५ मा प्रकाशित

गोविन्द गिरी प्रेरणा नेपाली साहित्यको एक ब्रान्ड नेम हो। अर्को अर्थमा नामै काफी छ भने पनि हुन्छ।तीसको दशक देखि निरन्तर र अविरल रूपमा उनको कलम चलिरहेको छ।

कुन कुन विधामा उनले लेखेका छन् भन्नुभन्दा पनि अब कुन विधामा लेख्न बाँकी छ भनेर खोज्नुपर्ने हुन्छ।त्यसरी खोज्दा बाँकी विधा नभेटिन पनि सक्छ।

कविता,कथा,गीत,उपन्यास,नियात्रा,अन्तर्वार्ता,पत्रकारिता, सम्पादन,हाइकु,नाटक आदि इत्यादि हरेक विधामा उनको कलम चलेको छ सशक्त रूपमा।लेख्नकै लागि मात्र उनको जन्म भएको हो कि भन्ने भान हुन्छ मलाई।म उनको पुरानो मित्र मात्र नभई शुभ चिन्तक पनि हुँ।हामी एउटै जिल्लावासी हौँ मकवानपुरको।उनी टेक्करका म भीमफेदीको।जन्मभूमि एउ‌टै जिल्ला भए पनि कर्मभूमि काठमाडौंमा हाम्रो भेट-चिनजान भयो सडक कविता क्रान्तिका बेला।त्यसबेलादेखि हामी अहिलेसम्म आत्मीय रूपमा नजिक छौँ।हाल प्रवासमा रहेका उनीसँग सामाजिक सञ्जाल मार्फत् बरोबर सम्पर्कमा रहने गरेका छौँ हामी।नेपाल आएको बेला भेटघाट नहुने कुरै भएन।प्रत्येक पटक उनी नेपाल आउँदा कुनै न कुनै कोसेली ल्याएकै हुन्छन् त्यो पनि साहित्यिक कृति।यस पटक चाहिँ अलि ढिलो भएको छ उनको नेपाल आगमन।तर पनि उनको अनुपस्थितिमा उनको कृति भने बजारमा देखापरिसकेको छ।सम्भवतःउनको पछिल्लो नयाँ कृति हो’अविधवा’।लामा लामा कथाहरूको सङ्ग्रह।दर्जनौं कृतिहरूका स्रष्टा गोविन्द गिरी प्रेरणाको यो पृथक शैली र विषयवस्तुको कृति भन्न रूचाउँछु म। हुन त यसअघि पनि उनले लामा-लामा कथा नलेखेका हैनन् तर ती कथाहरूभन्दा यी कथाहरू फरक स्वादका छन्,

यौन मनोविज्ञानमा आधारित फरक ढङ्गबाट प्रस्तुत कथाहरू पढ्न थालेपछि नटुङ्गियोस् जस्तो लाग्छ।आजको डिजिटल जमानामा लामा लामा कथाहरू पढ्न दिक्क लाग्छ,कहिले सकियोस् जस्तो लाग्छ तर “अ-विधवा” मा भएका कथाहरू भने पढ्दा जति आनन्द आउँछ त्यति नै सुस्वादु पनि।फ्लेसब्याक का रूपमा अभिव्यक्त ती कथाहरू कथाकारको जीवनकै भोगाइ र अनुभव हुन् कि भन्ने लाग्छ।बडो शालीनतापूर्वक यौन प्रसङ्गहरू उठाइएका छन्।वास्तविक जीवनमा भएको कहानी जस्ताको त्यस्तै पाठक सामु उनले राखिदिएका छन्।

सङ्ग्रहको पहिलो कथा’अ-विधवा’कृतिको न्वारानको नाम हो।

अ-विधवा कथा एक नारी पात्रको तीन पुरुषसँगको सम्बन्ध भएको कथा हो।एउटी नारीको जीवनमा पुरुषको कत्तिको महत्त्व र आवश्यकता पर्दोरहेछ र जीवन जिउने क्रममा के कस्ता समस्या भोग्नु परेको रहेछ भनेर चित्तबुझ्दो तरिकाले वर्णन गरिएको कथा हो।मृदुला नाम गरेकी नारीको मनीष नामका एक व्यक्ति जो उनको बाल्यकालका स्कुले साथीको

प्रसङ्गबाट कहानी शुरू भए पनि उनी तेस्रो व्यक्ति हुन् मृदुला को जीवनको उत्तरार्धमा सम्पर्कमा जोडिन आइपुगेका।मनीष मृदुलाका पति जनकका साथी पनि हुन्।एकल पुरुष भएको अवस्थामा सम्बन्ध गाँस्न पुगेका हुन्छन् शारीरिक चाहनाले नभई केवल साथको आवश्यकताले।तर उनसँग न यौन सम्बन्ध हुन्छ न त सँगै बस्न पाउने अवस्था।मनीषसँग बस्ने प्रस्ताव सदर वा बदर गर्न नपाउँदै दुर्घटनामा परेर मनीष टिचिङ अस्पतालमा उपचारकै क्रममा मृत्यु भइसकेको खबर सुनेर मृदुला विक्षिप्त हुन पुग्छिन्।दस मिनेट मात्र कुरेको भए त भेट्न पाउँथे नि भनेर उनी चुक चुकाउँछिन्।मृदुलाको बिहे हुन्छ जनकसँग बिए पढ्दापढ्दै।सिडिओ रहेका आफ्नो बाबुको हुकुमले।र पनि जनक असल व्यक्ति पर्छन् पढेलेखेका।

बेलायतमा पिएचडि गर्न जान्छन्।जनक बेलायत जानुअघि नै उनको गर्भ रहिसकेको हुन्छ।बिहे भएपछि उनीहरू भारत भ्रमणमा पनि गएका हुन्छन्।डिपेन्डेन्ट भिसा प्रोसेस गर्दागर्दै अचानक बेलायतमा जनक हृदयाघातबाट बित्छन्।जनकको शव नेपाल ल्याउन सकिन्न।नेपालबाट बिदाइ गर्दा लिएको फोटो नै अन्तिम चिनो बन्न पुग्छ जुन पेटमा हुर्किरहेको तर धरतीमा आउन बाँकी सन्तान नै सम्झाउनी बिर्साउनीका रूपमा मृदुलाका लागि।छोरो टुकुटुकु हिंड्न थाल्छ । उता उनी पनि एम ए पास गर्छिन् ।शिक्षण पेशाका रूद्र सरले मृदुलालाई पनि शिक्षण पेशामा पुर्याउँछन्।

शिक्षणले उनको जीवनमा आमूल परिवर्तन ल्याइदिन्छ।तर रूद्र सरको स्नेहले जनकको तस्बिर धमिलो देख्न थाल्छिन्।रूद्र सरको परिवार बारेमा सोध्न नपाउँदै सबथोक ढिलो भइसक्छ। रूद्र सरलाई शरीर सुम्पिसकेपछि विधवाको जीवन सधवामा जाँदैगरेको सपनामा उडेकी हुन्छिन् मृदुला।

रूद्रले जेठीबाट उम्केर मृदुलालाई एकलौटी बनाइसकेका हुन्छन्।सासू ससुरा समेत मृदुलालाई सधवा देख्न चाहन्थे तर विडम्बना आफ्नै कलेज बाहिर ट्रिपरको ठक्करबाट रूद्र सर ठाउँको ठाउँ नै बितेपछि फेरि दोस्रोपटक विधवा बन्छिन् मृदुला। रूद्र सरको मृत्युपछि नजिकिएका मनीष पनि बितेपछि एक्ली भएकी मृदुला मनमनै भन्छिन् म विधवा भएकै छैन।अ-विधवा छु। मेरा जनक छँदैछन् नि। रूद्र सर नभएर के भयो र मनीष नभएर के भो र। भित्तामा जनकको हाँसिरहेको तस्बिर यथावत् हुन्छ।तस्बिरमा उनको मुस्कान पनि उस्तै ।कयौं वर्षदेखिको त्यो मुस्कानका कुनै बदलाव हुँदैन।म विधवा होइन अ-विधवा छु।मृदुलाको यही संस्मरण

यसरी बडो कुशलतापूर्वक कथालाई प्रस्तुत गरेका छन् स्रष्टा प्रेरणाले ।पढुन्जेल लाग्छ मै मृदुला हुँ।एक सशक्त पात्र मृदुला।

अर्को कथा छ जुनू भाउजू।एसएलसी परीक्षा दिन डेरा लिएर बसेको घरको बुहारी हुन् जुनू।डल्ली भए पनि आकर्षक जुनू भाउजूको श्रीमान् नेपाली सैनिक जो ब्यारेकमा बस्दथे।सासू ससुरासँग बसेकी जुनू भाउजूको कथा हो यो।गोपाल नामको पात्र जो केही समयका लागि डेरा लिएर बसेका हुन्छन् त्यस घरमा।उनको खानपिन पनि त्यही घरमा हुन्छ।जुनू भाउजू आफूले पकाएको मीठो खाना थपिथपी खुवाउँछिन्।गोपाल सुत्ने कोठा र जुनू भाउजूको कोठा पनि नजिकै हुन्छ।जाडोको महिना एक रात शौचालय गएर फर्किँदा जुनू भाउजू सुत्ने कोठाको बत्ती बलेको देख्छन् गोपालले।झ्यालको एउटा खापामा प्वाल रहेछ मनमा के आएर हो कुन्नि प्वालबाट चियाउन पुग्छन् र देख्छन् जुनू भाउजूको अर्धनग्न आकर्षक शरीर।ट्युसन पढेर एसएलसीमा राम्रो श्रेणीमा पास गरोस् भनेर चिनजानका व्यक्तिको घरमा राख्न ल्याएका थिए गोपालका बाबुले।गोपाल भने जुनू भाउजूको देह दर्शनमा छटपटिन थाले।एक रात त उनले जुनू भाउजूलाई पूरै नग्न अवस्थामा देखे।पढाइ बिग्रेला भन्ने चिन्ता पनि नभएको हैन तर रात परेपछि प्वालबाट चियाउन मन लाग्थ्यो।मानसिक रूपमा गोपाल कमजोर बन्दै गए।जुनू भाउजूसँग शारीरिक सम्बन्ध समेत राखेको कल्पना गर्न थाले।वनको बाघले भन्दा पनि मनको बाघले गोपाललाई खान थाल्यो।अन्तमा मनलाई सम्हालेर पढाइलाई निरन्तरता दिए।एसएलसी परीक्षा पनि सकियो।परीक्षा सकिएको रात धित मरून्जेल देश दर्शन गर्ने उनको सपना पूरा हुन सकेन। गोपाल बाबुको पछि लागेर घर फर्किए जुनू भाउजूको नग्न देह दर्शनको सम्झना बोकेर।एसएलसी पास गरेर एक दिन भाउजूलाई भेट्न जाँदा उनीसँग भेट हुन सकेन।भाउजू माइती गएकी रहिछन्

उनको श्रीमान् पनि विदेश जान लागेका रहेछन्।भाउजू सुत्ने कोठामै उनलाई सुत्न दिइयो।भाउजूको कपडा देखेर उनले भाउजूसँगै सुतेको महसुस गरे।एकातिर जुनू भाउजूको अतृप्त यौन चाहना अर्कोतिर गोपालको यौन जिज्ञासालाई बडो कुशलतापूर्वक उतारेका छन् प्रेरणाले फ्लेश ब्याक शैली प्रयोग गरेर।

“भिनाजुको काख” पनि यौन मनोविज्ञानमा आधारित एउटा सुन्दर कथा हो।पोषण पाण्डेको भिनाजुको स्वेटर कथा जस्तै तर यस कथाको विषयवस्तु र परिवेश भने अलि फरक छ।बाह्र वर्ष अमेरिकामा बसेर पनि न त पढाइ न त कमाइ गर्न सकेका एक जना पात्र मनोज,उनकी धर्मपत्नी मीरा र साली समीराको घतलाग्दो कथा हो यो।सपनाको संसार अमेरिका जान अपहत्ते गर्नेहरूको कथा पनि हो यो।अमेरिका बसेर केही पनि उपलब्धि हासिल गर्न नसकेपछि मनोज नेपालमै फर्किन्छन् र बाबुआमाले भनेकै केटी मीरासँग बिहे गर्छन्।

अमेरिका जान पाउने लोभमा मीराले पनि बिहे गरेकी हुन्छिन् तर मनोज अमेरिका नजाने गरी फर्केको कुरा पछि थाहा पाउँछिन्।समीराले धेरै वर्षदेखि डिभि भरेर प्रयास गरिरहेकी हुन्छिन्।एक दिन उनलाई डिभि पर्छ।सुमीराकै योजनामा मनोज फेरि अमेरिका जान पाउने हुन्छन्।साली सुमीरासँग बिहे गरेर डिपेण्डेन्ट भिसामा जान उनी तयार हुन्छन् मीरा, सुमीरा र घरपरिवारको सल्लाहमा।मीराले मनोज र सुमीरा लाई अमेरिका पठाउन तयार हुन्छिन् एउटा शर्तमा अमेरिका पुगेपछि सुमीरासँग डिभोर्स गर्ने र मीरालाई अमेरिका लैजाने । तर भने जस्तो सजिलो कहाँ हुन्छ र।मनोजको ग्रिनकार्ड आउन समय लाग्छ।यता मीरा आफ्नै बहिनी सुमीरामाथि शंका गर्न थाल्छिन् कतै साली भिनाजु उतै लोग्ने स्वास्नी भएर बस्ने हुन् कि भनेर।रातदिन उनी छट्पटाउँछिन्।मनोज र सुमीरा लाई जथाभावी भन्छिन् फोनबाट।साली भिनाजु बीच यौन सम्पर्क भएको कल्पनामा डुब्छिन्।सुमीरा र मनोज दुबैलाई फोनबाटै कायल पार्छिन्।जब कि मनोज र सुमीरा बेग्लाबेग्लै राज्यमा हुन्छन्।उनीहरू बीच कुनै सम्बन्ध हुँदैन।यता मीरा भने केवल सुमीरा र मनोजका बीच यौन सम्बन्ध भएर आफू लाई बेवास्ता गरेको अनुभव गर्छिन्।दिदी मीराको चर्तीकला देखेर सुमीराले मनोजसँग रात बिताउने कुरा पनि गर्छिन् तर मनोज मान्दैनन्।यो घटना मनोजको तरङ्ग मात्र हुन्छ। मनोज फेरि नेपालमै फर्कन चाहन्छ तर फर्किँदैन।बरू अचानक सुमीरा नेपाल पुग्छिन् एउटा विदेशी केटा लिएर बिहे गर्न जोसँग उनको सम्बन्ध रहेको हुन्छ र पेट पनि बोकिसकेकी हुन्छिन्।विदेशमा रहँदा एउटा पुरुष कसरी अरूसँग यौन सम्बन्ध राख्न विवश हुन्छ भने महिलाहरू आफ्नै बहिनी र लोग्नेमाथि कति सजिलै शंका गर्ने हुन्छन् भनेर कथामा देखाइएको छ।

“पूर्व प्रेमिकासँग एक साँझ” कथा पनि रोचक यौन कथा हो।

उच्च शिक्षा हासिल गर्न गाउँबाट काठमाडौं आएर बसेको एक मध्यम स्तरीय युवाको कथा हो यो।डेरा नजिकै रहेको एउटा पसलमा तरकारी किन्न जाँदा भेटिएकी र सामान्य बोलचालपछि सम्पर्कमा आएकी एक बिबाहित युवतीसँगको

सम्बन्ध र बिछ्यौनासम्म पुगेको कथा।बुढो लोग्नेबाट अतृप्त रहेकी एक बच्चाकी आमासँग अनुचित यौन सम्बन्ध रहन्छ र युवती बूढो लोग्ने छाडेर युवकसँग भाग्न पनि तयार हुन्छिन् तर युवकले आँट गर्दैनन्।डेरामा सँगै बस्ने साथीहरूले पनि यो कुरा थाहा पाउँछन् र सम्झाउँछन् पनि।दशैँ जस्तो महान् चाडमा समेत युवक घर जान चाहँदैन र युवतीसँग अन्त कतै गएर रमाउन चाहन्छ।साथीहरूले निकै सम्झाएछि बल्ल घर जान्छ।घरमा आमाबाबुले थाहा पाइसकेका हुन्छन्।साथीहरू मलेसियामा काम गर्न जान लागेका हुन्छन्।युवक पनि बाउ आमाको करले मलेसिया पुग्छ।मलेसिया पुगेपछि बिस्तारै रूपालाई बिर्सन पुग्छ।केही वर्षपछि कमाएर नेपाल फर्किन्छ र काठमाडौमा घर किन्छ।रूपासँग सामाजिक सञ्जालमा फेरि भेट हुन्छ।रूपाले उसलाई भेट्न बोलाउँछे ऊ भेट्न जान्छ एक प्याकेट कण्डम लिएर वर्षौँपछिको भेमा यौन सम्पर्क गर्ने आशमा।

रूपाले आफ्नो आलिशान घर देखाउँछिन्।

सबै कोठा देखाउँछिन्।बूढो लोग्ने मरेपछि अर्कै केटासँग बसेकी हुन्छिन्।साधारण शाकाहारी नास्ता खुवाउँछिन्।जूस पिउन दिन्छिन्।अघिपछि नजिकै टाँसिएर बस्नुपर्ने मान्छे टाढै बस्छिन्।उनले त केवल आफ्नो घर वैभव पो देखाउन भेट्न खोजेको बल्ल युवकले चाल पाउँछ।आफूलाई काँतर,भगुवा भनेको सम्झन पुग्छ।युवतीको व्यवहारले युवक रनभुल्लमा पर्छ।रूपाको घरबाट फर्किँदा कण्डम अँध्यारोमा फाल्दिन्छ र

रूपाको सम्झनालाई पनि यसैगरी अँध्यारोमा फाल्दिन पाए हुन्थ्यो भन्दै ऊ सोच्न थाल्छ।पूर्व प्रेमिकासँगको साँझ यसरी टुङ्गिन्छ।

“सङ्क्रान्ति बजार होटल एन्ड लज” कथा यात्रा संस्मरण कथा जस्तो लागे पनि कथाभित्र रमाइलो यात्राका साथै पहाडी जीवनको सुन्दर चित्रण भएको कथा हो।कथामा यौनलाई

आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको छ।सङ्क्रान्ति बजारकी साँहिलीसँग अचानक भएको यौन सम्पर्क लेखकले विदेश पुगेपछि भुलिसकेका हुन्छन्।विदेश बसाइमा मेक्सिकन महिला सोफियासँग उनको सम्पर्क हुन्छ।बिहेपछि एक साताको हनिमुनका लागि अलास्का क्रुजमा गएका हुन्छन्।क्रुजबाट फर्किएपछि एक रात अचानक दुर्घटनामा पर्छन् लेखक पात्र। बाँच्न त उनी सफल हुन्छन् तर नसामा पुग्न गएको क्षतिले पुरुषत्व नष्ट हुन्छ।बाँच्नुको खुसीभन्दा पनि पुरुषत्व नष्ट भएकोमा उनलाई दु:ख लाग्छ।एक दिन अचानक सोफियाले डिभोर्स माग्छिन्।पुरुष साथी मात्र भएर पुग्दैन लोग्ने पनि त चाहिन्छ भन्ने सोफियाको भनाइले उनी मर्माहत हुन्छन्।जन्म घर फर्कन तयार हुँदै गर्दा एक दिन नेपालकै कमलसँग भेट हुन्छ।साझेदारीमा रेष्टुरेन्ट खोल्छन्।मनग्ये मुनाफा पनि हुन्छ।

“सुनसान बस्तीमा अन्तिम संवाद” शीर्षकको कथा माओवादी युद्धको कारण तहसनहस भएको एउटा बस्तीको दुखलाग्दो कहानी हो।

दुई दशकपछि लामो निद्राबाट ब्युँझिए झैँ आफैँसँग सोध्छन् यो सब के का लागि, कसका लागि भनेर।रेष्टुरेन्ट कमललाई पूरै हस्तान्तरण गरेर नेपाल फर्किन्छन्।काका काकीलाई उनी नेपाल फर्किएको चित्त बुझ्दैन।कारण बुझ्दा उनको सम्पत्ति काका काकीले हत्याइसकेका हुन्छन्।अमेरिकामा दुर्घटना हुँदा प्राप्त क्षतिपूर्ति रकमले काठमाडौंमा घर किन्छन्।किशोर नाम गरेका साथीले बालाजुमा रहेको “सङ्क्रान्ति होटल एन्ड लज” मा एक साँझ पुर्याएपछि पैँतीस वर्षअघिको आठराई सङ्क्रान्ति बजार उनी सम्झन पुग्छन् र त्यहीँ उनको साहिँली सँग पुन:भेट हुन्छ।कुरै कुरामा साहिँली पुरानो याद दिलाउँदै गोपाल नाम गरेको एक युवासँग उनको सहबास भएको र त्यसको चिनो एउटा छोरो भनेर भित्तामा टाँगिएको तस्बिर देखाउँछिन् र भन्छिन् सङ्क्रान्ति बजारको मदन मेलामा एक रात झाडीभित्र सम्पर्क भएको गोपाल नाम गरेको व्यक्तिको जतनले राखेको पासपोर्ट साइजको श्यामश्वेत तस्बिर देखेर लेखक झसङ्ग हुन्छन् । तस्बिर त उनकै हुन्छ जुन उनले काठमाडौं फर्कने बेलामा दिएका थिए।साहिँलीसँगको सम्बन्ध पनि लेखकले फ्लेस ब्याक शैलीमै लेखेका छन्। कथा मार्मिक छ,रोमाञ्चक छ र यौनप्रधान छ।प्रस्तुति ज्यादै प्रभावकारी छ।

“सुनसान बस्तीमा अन्तिम संवाद” शीर्षकको कथा माओवादी युद्धको कारण तहसनहस भएको एउटा बस्तीको दुखलाग्दो कहानी हो।अपहरण,चन्दा असूली,बलात्कार र हत्या जस्तो जघन्य अपराधको पराकाष्ठालाई बडो मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको यथार्थमा आधारित घटनाक्रमको कथा।कथाभित्र सर्वसाधारण जनताको हक अधिकार खोसिएको,जङ्गलीराज को डरलाग्दो कहानी।अतृप्त आत्माको कथा।भूतका रूपमा भेट भएको प्रसङ्ग।कथाभित्र यौनजन्य क्रियाकलाप समेत भएको घटनाक्रम।नयाँ शैली र पृथक प्रस्तुतिबाट जनताले भोग्नुपरेको कारूणिक यथार्थको वर्णन।हरर मुभी हेरेको जस्तै अनुभूति हुने एक उत्कृष्ट कथा।

संग्रहको अन्तिम कथा “स्वप्नवत्” शीर्षक अनुसार मेल खाने एउटी महिलाको सपनाको कथा।कामिनी एक राजनीतिक महिला।

कलेज जीवनदेखि नै राजनीतिमा लागेकी।उनका बाबु भने राजावादी।सहारा शाह दरबार खानदानकी।आफ्नो बाबुकै कारण उनी सहाराको सम्पर्कमा पुग्छिन्।सहारा समलिङ्गी भनेर थाहा पाए पनि उनीहरू सम्पर्कमा रहन्छन्।सहारासँग लागेर कामिनीको पनि दिन फेरिन थाल्छ।नाम हुन्छ दाम हुन्छ।देश विदेश घुम्न पाउँछिन्।सहाराको दाजु मोहनराजासँग कामिनीको परिचय हुन्छ।सहाराको अनुपस्थितमा मोहनले कामिनीसँग यौन सम्पर्क राख्छन्।बाथटबमा सहारासँग निर्वश्त्र भएर गरेको सम्पर्क जस्तै।सहाराले यो कुरा थाहा पाएपछि दाजु बहिनीको बीच सम्बन्ध चिसिन्छ।मोहनराजाको भ्रुण उनको पेटमा चार महिनादेखि दिनदिनै बढिरहेको हुन्छ।कामिनीको कालो कर्तुत देख्न नसकेर उनको बाबु चन्द्रोदयले सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गर्छन्।आमा सुनयना बेहोस हुन्छिन् विदेश लगेर उपचार गराउन शंकर मामा दौडधुप गर्छन् तर अचेत अवस्थामै सुनयना पनि धरतीबाट बिदा हुन्छिन्।धेरै दिनदेखि सहारा सम्पर्कमा नआएपछि एक दिन कामिनी उनलाई भेट्न जान लाग्दा कलेजकी साथी घर आइपुग्छिन्।उनको हातमा एउटा समाचारपत्र हुन्छ।पत्रिकाको पहिलो पृष्ठमा मुख्य समाचार छापिएको हुन्छ।।राजधानीमा बीभत्स हत्याकाण्ड।गोली हानाहानमा दाजु बहिनीको मृत्यु । समाचारको मुनि फोटो छापिएको हुन्छ सहारा र मोहनराजाको।कामिनी काँप्न थाल्छिन्।सपना हो कि विपना।यथार्थ हो कि भ्रम छुट्याउन सक्दिनन्।उता शंकर मामाले कामिनीको घरजग्गा धरौटीमा राखेका रहेछन् कामिनीको दस्तखत गराएर।धरौटीमा रहेको घरजग्गा जान्छ।शंकर मामा त कंश पो परेछन् भन्छिन्।

केही लाख उनको पोल्टामा आउँछ।उता मोहनराजाले पनि केही रकम बैंक खातामा राखिदिएका हुन्छन्।समाउने हाँगो र टेक्ने जमिन नभएको बेला साथी विनीताले हात समाएर जोगाउँछिन् कामिनीलाई।मोहनराजाको भ्रुण खसाल्न गोरखपुर जाने योजनामा हुन्छन् उनीहरू।भैरहवामा सूर्यनाथ पात्रसँग परिचय हुन पुग्छ।संयोगले एउटै होटलमा बास बसेका हुन्छन् उनीहरू।भोलिपल्ट बिहान होटल परिसरकै रेष्टुरेन्टमा जाँदै गर्दा विनीता र सूर्यनाथ बीचको गफ सुन्न पुग्छिन्।के भो त म पनि एक्लो छु,उदार छु यसमा।बीउ नरोपी फल पाउनु त मेरो सौभाग्य नै हो नि भन्ने कुरा सुन्न पुग्छिन्।सूर्यनाथ राजनीतिक व्यक्ति हुन्छन्।मोहनराजाको भ्रुणलाई सूर्यनाथले सकार्छन्।भ्रष्ट नेताहरूको फोहोरी राजनीतिबाट सूर्यनाथ पनि दिक्क भएका हुन्छन्। उनले अमेरिकमा बसेर पढिरहेको मृदुल जो मोहनराजाको भ्रुण हो उसलाई राजनीतिमा ल्याउने योजना सुनाउँछन् सूर्यनाथ कामिनीलाई।मृदुल नेपाल फर्कर आएको र त्रिभुवन विमानस्थलमा भव्य स्वागत र जय जयकार गरिएको देख्छिन् उनले।एकाएक चिच्याउँछिन् मृदुल भनेर।असिनपसिन भई सास फुलिरहेको हुन्छ।अहो ! कस्तो सपना देखेँ कामिनी भन्छिन्।वास्तवमा यो उनको सपना हुन्छ।

सहारा समलिङ्गी भएको,मोहनराजासँग पनि उनको यौन सम्पर्क हुने गरेको,कामिनी खोसिएपछि दाजु बहिनी बीच द्वन्द बढेको र अन्तमा गोली हानाहान गरी हत्या भएको प्रसङ्गदेखि फोहोरी राजनीतिका कुरा र पद पैसा प्रतिष्ठाका लागि भएगरेका यावत् कुराहरू सरल र रोचक ढङ्गबाट प्रस्तुत कथा “स्वप्नवत् “ वास्तवमा स्वप्नकै रूपमा उद्घाटित हुन्छ।

कथाकार गोविन्द गिरी प्रेरणाले प्रत्येक शब्दहरू हरफहरू राम्रोसँग केलाएर निफनेर विषयवस्तु र कथावस्तुलाई पस्कन सफल भएका छन्।कथाहरू पढ्दै जाँदा कतिपय ठाउँमा आफैँ नायक भएको महसुस पनि हुन्छ।कथाहरू पठनीय छन् स्तरीय छन्।दोहर्याई तेहराई पढ्न मन लाग्छ।प्रा.डा. लक्ष्मणप्रसाद गौतमको लामो भूमिका पनि पठनीय र कृति सापेक्ष रहेको छ।कथाकार गोविन्द गिरी प्रेरणालाई एउटा गहकिलो कृतिका लागि हार्दिक बधाई सहित शुभकामना पनि।

सुभाषचन्द्र पौडेल “भीमफेदीया”

२९ चैत २०८२

धुम्बाराही,काठमाडौं।

प्रतिक्रिया