साहित्यकार त्रिपाठीका कवितामाथि चर्चा

कृष्णराज खनाल २०८३ असार ८ गते १६:२३ मा प्रकाशित

राले।

आमाले बिसाएको भारी
हलुकै उठाउन खोजेथेँ
आधा दिन काटेपछि बल्ल थाहा लाग्यो
जिन्दगी कति गरौँ रहेछ ….।

यी हरफ हुन् साहित्यकार डा. गीता त्रिपाठीका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्थ क्यारोलाइना च्याप्टर र नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा प्रत्येक महिनाजसो हुने मासिक घरदैलो कार्यक्रम अन्तर्गत यसपटक शनिवार राती डा. त्रिपाठीसँग जुममार्फत साक्षात्कार गर्ने र उहाँका रचनाहरु सुन्ने अवसर प्राप्त भएको थियो । त्यस अवसरमा उहाँले तीनवटा कविता र दुइवटा सुन्दर गीत सुनाउनुभएको थियो । गीत, संगीत, निबन्ध र समालोचनामा कलम चलाउनुहुने वहुमुखी प्रतिभाकी धनी ५३ वर्षीया डा. त्रिपाठीका झण्डै एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् ।

कविता सुनाउने सिलसिलामा कवयित्री त्रिपाठीले विगतमा भन्दा अहिलेको परिप्रेक्ष्यमा वातावरण बिग्रदै गएको कारण पर्या कविताको चर्चा बढी हुने गरेको र यो आवश्यक पनि छ भन्नुभयो । उहाँले यस्ता विषयमा कविता र रचना धेरै सुन्न पाइनु खुसीको कुरा हो भन्नुभयो ।


कार्यक्रमकी संयोजक कवयित्री नम्रता गुरागाईँले साहित्यकार त्रिपाठीको परिचय दिने क्रममा परदेशमा बसेर घरदेश र घरदेशका साहित्यकारसँग साक्षात्कार गर्ने र नेपाली भाषा र साहित्यको उत्थानमा दरिलो माध्यम बनाउने उद्धेश्य अनुरुप यसपटक साहित्यकार त्रिपाठीसँग छलफल गरिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले त्रिपाठीको वहुआयामिक कवित्वका बारेमा जानकारी दिनुभएको थियो ।

समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. शरद परासर मरहट्टाले साहित्यकार त्रिपाठीको कवितामाथि र शिव पलाँसले गीतमाथि टिप्पणी गर्नुभएको थियो । त्यस अवसरमा पर्यावरणविद् साहित्यकार डा. ऋषि वस्ताकोटीले त्रिपाठीका साहित्यमा पर्या साहित्यको छापका बारेमा समालोचना गर्नुभएको थियो भने साहित्यकार डा. निलम कार्की निहारिकाले त्रिपाठीको समग्र साहित्य लेखन र कविताका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

समाजका महासचिव मनोज प्रधानले स्वागत गर्ने क्रममा समाजका गतिविधिमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले परदेशमा बसेर मातृभूमि घरदेशसँग जोडिन पाउनु खुसीको कुरा हो भन्नुभएको थियो ।

अमेरिकी बा दिवसको उपलक्ष्यमा आयोजित सो समारोहमा डा. हरिहर भट्टराई, शिव पलाँस, डा. शरद परासर मरहट्टा, सुरेश भट्ट, शिशिर खनाल, सुजाता ढुंगेल, डा. पल्लवी शर्मा, माधवप्रसाद गौतम, प्रशान्त दाहाल र कृष्णराज खनाललगायतले बा सम्बन्धी कविता वाचन गर्नुभएको थियो । कविता सुन्ने र सुनाउने क्रममा कतिपय कविताले भावुक बनाएको र कोठामा सन्नाटा छाएको थियो ।

प्रतिक्रिया