अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटायो, युद्ध अन्त्यतर्फ नयाँ आशा

इनेप्लिज २०८३ असार ८ गते १६:५३ मा प्रकाशित

अमेरिका र इरानबीच जारी शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको छ। यही क्रममा अमेरिकी अर्थ विभागले अन्तरिम सम्झौताअन्तर्गत इरानी तेल उत्पादन, ढुवानी र बिक्रीमा लगाइएको केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यो विशेष अनुमति (लाइसेन्स) अगस्त २१ सम्म लागू रहनेछ।

एपिका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा इरानका उच्च अधिकारीहरूसँग भएको लामो वार्ता सफल भएको र अन्तिम शान्ति सम्झौताका लागि “राम्रो आधार” तयार भएको बताएका छन्। 

दुवै पक्षले फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने लक्ष्यका साथ वार्ता अघि बढाइरहेका छन्।

यता अमेरिकी विदेशमन्त्री मार्को रुबियो यसै साता संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र बहराइनको भ्रमणमा जाने भएका छन्। 

उनले ती देशका नेताहरूसँग अमेरिका–इरानबीच भएको प्रारम्भिक सहमति, स्विट्जरल्यान्डमा भएको पछिल्लो वार्ता तथा मध्यपूर्वको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश बिभागले जनाएको छ।

रुबियोले विशेष रूपमा विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्ग हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने, क्षेत्रीय शान्ति कायम राख्ने तथा अमेरिकी सहयोगी राष्ट्रहरूको सुरक्षाबारे छलफल गर्नेछन्। 

बहराइनमा उनले गल्फ कोअपरेशन काउन्सिलका अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्।

युद्धका कारण हर्मुज जलडमरूमध्यको मुख्य समुद्री मार्गमा अझै पनि बारुदी सुरुङ (माइन) रहेका कारण त्यो मार्ग बन्द छ। तर जहाजहरू अहिले इरानको समुद्री क्षेत्र हुँदै जाने उत्तरी मार्ग र ओमानको समुद्री क्षेत्र हुँदै जाने दक्षिणी मार्ग प्रयोग गरेर आवतजावत गरिरहेका छन्।

तथ्याङ्क तथा विश्लेषण कम्पनी क्प्लरका अनुसार सप्ताहन्तमा ७१ वटा जहाजले हर्मुज जलडमरूमध्य पार गरेका थिए। शनिबार मात्र ३५ वटा जहाज आवतजावत गरेका थिए। युद्ध सुरु हुनुअघि भने यस जलमार्गबाट दैनिक करिब १०० देखि १३० वटा जहाजआवतजावत गर्ने गर्दथे।

अमेरिका र इरानबीचको वार्ता सफल भएमा मध्यपूर्वमा शान्ति स्थापना हुने, विश्व ऊर्जा बजारमा स्थिरता आउने र अन्तर्राष्ट्रिय व्यापार सहज बन्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया