
चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरमा जारी रहँदा नयाँ नेतृत्व र विचारका लागि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । यसै महाधिवेशनमार्फत ओखलढुङ्गाका स्थापित राजनीतिक अभियन्ता एवं वैकल्पिक राजनीतिका प्रखर संवाहक राजन दाहालले केन्द्रीय सदस्य पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। तल्लो तहबाटै सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणको मुख्य एजेन्डा बोकेका दाहालले आगामी नेतृत्वका लागि वैचारिक बहस सिर्जना गर्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन्। ओखलढुङ्गाको सामाजिक र राजनीतिक आन्दोलनमा लामो समयदेखि क्रियाशील दाहालले समाजमा व्याप्त विभेदकारी सोच र प्रथालाई समूल नष्ट गरेर मात्र मुलुकको समग्र विकास सम्भव हुने दाबी गर्दै केन्द्रीय समितिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।
नेता दाहालको पारिवारिक पृष्ठभूमि परम्परागत धार्मिक र सांस्कृतिक मूल्यमान्यता बोकेको संभ्रान्त ब्राह्मण एवं पण्डित परिवार हो। तर, उनी आफू पण्डितको छोरो भएर पनि समाजमा जन्म र जातका आधारमा मानिसबीच गरिने वर्गीकरणको कडा विरोध गर्छन्। समाजमा जातका आधारमा कोही सानो र कोही ठूलो हुने तथा कसैको पानी चल्ने र कसैको नचल्ने भनी मानिस–मानिसबीच कोरिने अदृश्य पर्खालले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई दिनप्रतिदिन कमजोर बनाइरहेको उनको दृढ बुझाइ छ। संकुचित रूढिवादी परम्परालाई तोड्दै दाहालले समाजका क्षेत्री, ब्राह्मण र अन्य जातिहरूलाई दलित भनिएको समुदायसँग नजिक ल्याउन र उनीहरूबीचको दूरी मेटाउन लामो समयदेखि निरन्तर पुलको काम गरिरहेका छन्।
राजनीतिक रूपमा दाहाल लामो समयदेखि ओखलढुङ्गा र आसपासका पहाडी क्षेत्रमा सङ्गठन निर्माण, चुनावी अभियान र राजनीतिक परिचालनमा क्रियाशील ग्रासरुटका स्थापित नेता हुन्। यसअघिको स्थानीय तह निर्वाचनमा मोलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल ग्रामीण यथार्थ र नागरिकका दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएका छन्। परम्परागत राजनीतिक दलहरूले पहाडी र दुर्गम क्षेत्रलाई केवल भोट बैंकका रूपमा मात्र प्रयोग गरेको तर नीति निर्माण र बजेट विनियोजनमा सधैँ किनाराकृत गरेको महसुस गरेपछि उनी वैकल्पिक राजनीतिको पक्षमा उभिएका हुन्। सुशासन, पारदर्शिता र जनताकेन्द्रित राजनीतिको प्रतिबद्धतासहित उनी रास्वपाको सङ्गठन विस्तारमा ओखलढुङ्गा जिल्लामा निरन्तर खटिँदै आएका छन् र त्यही जगमा उभिएर अहिले केन्द्रीय तहको जिम्मेवारीका लागि अग्रसर भएका हुन्।

जातीय विभेदको अन्त्य केवल राजनीतिक भाषण र कागजमा मात्र सीमित हुन नहुने बताउँदै नेता दाहालले यसलाई व्यवहारमै उतार्नुपर्नेमा विशेष जोड दिँदै आएका छन्। समाजमा दलित भनिएका साथीहरूलाई सँगै राख्ने, सँगै खाने र सँगै बस्ने वातावरणको सिर्जना गरी उनीहरूलाई समान अवसर र सम्मान दिनु नै यो समस्या समाधानको एक मात्र अचुक उपाय भएको उनी बताउँछन्। जबसम्म समाजमा विभेद, अन्याय र छुवाछूत जस्ता कुप्रथाहरू रहिरहन्छन्, तबसम्म समुदायमा वास्तविक एकता कायम हुन सक्दैन र एकता बिनाको समाज सधैँ कमजोर रहने उनको विश्लेषण छ। सामाजिक एकता नै समाजको वास्तविक बल भएकाले यसैका आधारमा मात्र परिवर्तनको जग बसाल्न सकिने उनी स्पष्ट पार्छन्।
उनले जातीय विभेद अन्त्यका लागि राज्यको भूमिका र जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। राज्यले केवल कानुन मात्र बनाएर आफ्नो दायित्व पूरा नहुने दाहालको प्रष्ट तर्क छ। कानुन किताबमा लिखतका रूपमा सङ्ग्रह गरेर मात्र समाज परिवर्तन नहुने र राज्यले यसको व्यावहारिक कार्यान्वयनको पूर्ण दायित्व लिनुपर्नेमा उनले जोड दिएका छन्। जबसम्म राज्यले उत्पीडित समुदायको शिक्षा, स्वास्थ्य, र रोजगारको सुनिश्चितता गर्दै विभेदमुक्त समाज निर्माणका लागि ठोस र व्यावहारिक दायित्व पूरा गर्दैन, तबसम्म वास्तविक सामाजिक न्याय र मुलुक परिवर्तन असम्भव हुने उनको ठहर छ।
आफ्नो केन्द्रीय सदस्यको उम्मेदवारीबारे प्रष्ट पार्दै नेता दाहालले समाज परिवर्तन नभईकन मुलुक परिवर्तन हुन नसक्ने र समाज परिवर्तनको प्रस्थानविन्दु नै सामाजिक न्याय र समानता भएको उल्लेख गरेका छन्। केन्द्रीय नेतृत्वमा पुगेर छुवाछूत र जातीय विभेद अन्त्यका लागि ठोस नीति, व्यावहारिक योजना र प्रभावकारी कार्यक्रमहरू निर्माण गर्ने उनको मुख्य सङ्कल्प रहेको छ। एउटा पण्डितको छोराले समाजमा सहभोज, सद्भाव र व्यावहारिक एकताको वकालत गर्दै क्रान्तिकारी कदम चाल्नु र राज्यको जवाफदेहिता खोज्नुले रास्वपाको जारी महाधिवेशनमा ठूलो वैचारिक तरङ्ग पैदा गरेको छ। सामाजिक सद्भाव, समानता र न्यायपूर्ण समाजको एजेन्डा बोकेका राजन दाहालको केन्द्रीय सदस्यको यो उम्मेदवारीले पार्टीलाई अझ प्रगतिशील र समावेशी बनाउने विश्वास महाधिवेशन प्रतिनिधिहरूले लिएका छन्।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया