कतारको ग्यास कारखानामा भीषण विस्फोट: १३ जनाको मृत्यु, विश्वभर ऊर्जा सङ्कटको त्रास

इनेप्लिज २०८३ असार ८ गते १४:२४ मा प्रकाशित
Screenshot

आइतबार राति कतारको ‘रास लाफान’ औद्योगिक क्षेत्रमा रहेको महत्त्वपूर्ण प्राकृतिक ग्यास निर्यात केन्द्रमा ठूलो विस्फोट भएको छ। 

युद्धका कारण बन्द रहेको यो कारखाना( प्लान्ट)लाई पुनः सञ्चालन गर्ने प्रयास गर्दा उक्त दुर्घटना भएको हो। यस घटनामा परी कम्तीमा १३ जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

कतार विश्वको सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने देशहरूमध्ये एक हो। केही समयअघि इरानसँगको युद्ध र तनावका कारण बार्जान नामक यो ग्यास सुविधा केन्द्र पूर्ण रूपमा बन्द गरिएको थियो। 

अहिले युद्ध रोक्नका लागि वार्ताहरू भइरहेका छन् र इरानले पनि आफ्नो नाकाबन्दी खुकुलो बनाएको छ। यही मौका छोपी कतारले आफ्नो ग्यास निर्यात सुरु गर्ने प्रयास गरेको थियो, तर काम सुरु गर्ने क्रममै यो भयानक विस्फोट भयो।

कतारका ऊर्जामन्त्री साद शेरिदा अल-काबीका अनुसार, यो घटनालाई एक औद्योगिक दुर्घटना मानिएको छ।

 बार्जान प्लान्टले दैनिक १.४ अर्ब घन फिट ग्यास उत्पादन गर्थ्यो, जसले कतारको स्थानीय बिजुली र पानी प्रशोधन गर्ने कारखानाहरू चलाउन मद्दत गथ्र्यो। यस कारखानामा कतारको मुख्य लगानी छ भने अमेरिकी कम्पनी ‘एक्सनमोबिल’को पनि सानो हिस्सा छ।

गत मार्च महिनामा पनि इरानी क्षेप्यास्त्र आक्रमणका कारण यस क्षेत्रमा ठूलो क्षति भएको थियो। कतारले यो क्षेत्रबाट हुने उत्पादन पहिले नै रोकिसकेको थियो। कतारले समुद्रमा रहेको आफ्नो ग्यास भण्डार इरानसँग साझा गर्छ। 

यो प्राकृतिक ग्यास नै कतारको धनको मुख्य स्रोत हो, जसको प्रयोग गरेर कतारले सन् २०२२ को विश्वकप आयोजना गर्नेदेखि लिएर ‘अल जजिरा’ जस्ता ठूला सञ्चार माध्यम सञ्चालन गर्न सफल भएको छ।

 अहिलेको यो विस्फोटले विश्वभरि ऊर्जाको मूल्य र आपूर्तिमा ठूलो असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया