
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको दोस्रो दिन प्रतिनिधिको अन्तिम सङ्ख्या टुङ्गो नलाग्दा बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेन। बिहान साढे ८ बजेबाट सुरु हुने तय भएको बन्दसत्र दिउँसो २:२० बजेसम्म पनि प्रारम्भ हुन नसक्दा महाधिवेशनस्थलमा अन्योलको अवस्था देखिएको छ।
चितवन प्रदर्शनी केन्द्रमा भेला भएका महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र देखाउँदै हलभित्र प्रवेश गर्ने, बाहिर निस्कने तथा खाना खाएर समय बिताइरहेका छन्। बन्दसत्र कहिले सुरु हुन्छ भन्ने निश्चित जानकारी नआउँदा प्रतिनिधिहरू प्रतीक्षामै बसेका छन्।
दलका प्रवक्ता मनिष झाले केही जिल्ला तथा मधेश प्रदेशका स्थानीय तहमा अधिवेशन अन्तिम समयमा सम्पन्न भएको, कतिपय स्थानमा अधिवेशन हुन नसकी तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिएको र प्रतिनिधिको विवरण रुजु तथा थप गर्ने काम जारी रहेकाले बन्दसत्र ढिलाइ भएको जानकारी दिए ।
यसैबीच, केही सङ्घीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिको सूचीमा नपरेपछि उनीहरूले दाबी–विरोधका निवेदन दर्ता गरेका छन्। ती निवेदनमाथि अन्तिम निर्णय गरी प्रतिनिधिको आधिकारिक सूची सार्वजनिक गर्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।
महाधिवेशन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिको अन्तिम सूची टुङ्गिएलगत्तै बन्दसत्र सुरु गरिनेछ। प्रतिनिधि व्यवस्थापनमा देखिएको अन्योलले महाधिवेशनको दोस्रो दिनको कार्यतालिका प्रभावित भए पनि दल नेतृत्वले सबै प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले टुङ्ग्याउने तयारी गरिरहेको जनाएको छ।
प्रतिक्रिया