रास्वपा महाधिवेशनमा लिङ्देनको सन्देश: नेता मात्र होइन, वर्तमान व्यवस्था नै फेर्नुपर्छ

इनेप्लिज २०८३ असार ८ गते ११:१८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई संकटबाट बचाउन र विकासको गति दिन राजनीतिक दलहरूबीच ‘राष्ट्रिय सहमति’ अपरिहार्य रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन, भरतपुरमा आयोजित ऐतिहासिक प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले देशमा परिवर्तन र समृद्धिका लागि जनतामा तीव्र छटपटी र अभिलाषा रहेको उल्लेख गरे ।

पुराना नेता र नेतृत्वको कमजोरीकै कारण आज जनताले रास्वपा जस्तो नयाँ विकल्प रोजेको उनको भनाइ थियो। नेता लिङ्देनले गम्भीर हुँदै भने , “समस्या केवल नेताहरूमा मात्र छैन, उनीहरूले ल्याएको वर्तमान संविधान र संवैधानिक व्यवस्थामा पनि ठूला त्रुटिहरू छन्। जबसम्म यो व्यवस्थामा सुधार गरिँदैन, तबसम्म मुलुक अघि बढ्न सक्दैन।”

रास्वपाको काँधमा राजनीतिक सुधारको ऐतिहासिक जिम्मेवारी र चुनौती आइपरेको औँल्याउँदै उनले नेतृत्वलाई निकै भावुक र कडा शैलीमा सचेत गराए । “इतिहासले तपाईहरूलाई एउटा दुर्लभ अवसर दिएको छ। यस्तो मौका सधैँ आउँदैन,” लिङ्देनले भने , “यदि रास्वपाले यो ऐतिहासिक अवसर चुकायो भने, त्यो धोका आफ्नो दल र नेतृत्वलाई मात्र हुने छैन, बरु देश र आशावादी जनताप्रति महाअन्याय र ठुलो धोका हुनेछ।”

उनले रास्वपाको यस प्रथम महाधिवेशनले मुलुकलाई सही दिशा दिने क्रान्तिकारी नीतिगत निर्णय गर्न सकोस् भन्दै सफलताको हार्दिक शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया