केयर स्टार्मरको उत्तराधिकारी बन्न एन्डी बर्नहमको घोषणा, लेबर दलमा नयाँ अध्याय सुरु

‘देशलाई स्थिर नेतृत्व चाहिन्छ’ भन्दै एन्डी बर्नहम प्रधानमन्त्रीको प्रतिस्पर्धामा

इनेप्लिज २०८३ असार ८ गते १०:३८ मा प्रकाशित

बेलायतको प्रमुख विपक्षी दल लेबर दल (पार्टी)मा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। ग्रेटर म्यानचेस्टरका पूर्व नगर प्रमुख (मेयर) एन्डी बर्नहमले दलका नेता तथा बेलायतका प्रधानमन्त्री केयर स्टार्मरको उत्तराधिकारी बन्न आफू उम्मेदवार हुने औपचारिक घोषणा गरेका छन्।

एन्डी बर्नहमले सामाजिक सञ्जाल एक्स मार्फत आफू नेतृत्व चयन प्रक्रियामा सहभागी हुने जानकारी दिएका हुन्। उनले लेखेका छन्, “म यो प्रक्रियामा आफूलाई उम्मेदवारका रूपमा अघि सार्नेछु।”

बर्नहमले प्रधानमन्त्री केयर स्टार्मरको नेतृत्व र देशप्रतिको योगदानको प्रशंसा गर्दै उनको सेवाका लागि धन्यवाद पनि दिएका छन्। उनका अनुसार स्टार्मरले पद छोड्ने निर्णय गरेसँगै अब नयाँ नेतृत्वमा सहज र जिम्मेवार रूपमा सत्ता हस्तान्तरण हुनु आवश्यक छ।

बर्नहमले बेलायतका नागरिकले अहिले राजनीतिक विवादभन्दा पनि स्थिर सरकार, गम्भीर नेतृत्व र जनताका मुख्य समस्यामा केन्द्रित कामको अपेक्षा गरेको बताए। उनले नयाँ नेतृत्वले देशलाई सही दिशामा अघि बढाउन निरन्तर प्रयास गर्ने विश्वास व्यक्त गरे।

यसैबीच, लेबर पार्टी (दल)का प्रभावशाली नेता मानिएका वेस स्ट्रिटिङले पनि एन्डी बर्नहमलाई आफ्नो समर्थन घोषणा गरेका छन्। यस समर्थनपछि बर्नहम नेतृत्वको दौडमा अझ बलियो उम्मेदवार बनेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यदि अन्य बलिया उम्मेदवार अघि नआए भने उनी प्रतिस्पर्धाविनै लेबर पार्टी(श्रमिक दल)को नयाँ नेता चयन हुन सक्ने सम्भावना बढेको छ।

एन्डी बर्नहमले आगामी दिनमा आर्थिक वृद्धि, बढ्दो महँगी नियन्त्रण, सार्वजनिक सेवाको सुधार, आवासको समस्या समाधान र युवा पुस्ताका लागि रोजगारी तथा अवसर सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्।

उनले राजनीतिक परिवर्तनको उद्देश्य केवल नेतृत्व फेर्नु मात्र नभई जनताको जीवनस्तर सुधार गर्नु हुनुपर्नेमा जोड दिए। उनका अनुसार सरकारको सबैभन्दा ठूलो जिम्मेवारी नागरिकको दैनिकी सहज बनाउनु र देशको समग्र विकासलाई गति दिनु हो।

बेलायतमा अब लेबर पार्टीको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले राष्ट्रिय राजनीतिमा विशेष चासो पैदा गरेको छ। सबैको ध्यान अब एन्डी बर्नहमले दलको नेतृत्व सम्हाल्दै देशको भविष्यलाई कस्तो दिशा दिन्छन् भन्नेमा केन्द्रित भएको छ।

प्रतिक्रिया