
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेटवार्तापछि रूसले करिब नौ महिनादेखि कुनै आरोप नलगाई साइबेरियामा थुनिएका २४ जना फिलिपिनी नागरिकलाई रिहा गरेको छ। फिलिपिन्सका सरकारी अधिकारीहरूले शनिबार यसबारे जानकारी दिएका हुन्।
एबिसीन्यूजका अनुसार रिहा भएका २४ जना फिलिपिनी नागरिक दुई वटा विमानमार्फत आइतबार बिहान फिलिपिन्सको राजधानी मनिलामा आइपुग्ने कार्यक्रम रहेको छ। पहिलो समूहलाई फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोले विमानस्थलमै स्वागत गर्नेछिन्। उनी राष्ट्रपति मार्कोससँगै रूसको कजान शहरमा भएको उच्चस्तरीय भेटवार्तामा सहभागी भएकी थिइन्।
राष्ट्रपति मार्कोस अहिले आसियानको घुम्ती अध्यक्ष समेत हुन्। कजानमा आयोजित आसियान र रूसबीचको कूटनीतिक सम्बन्धको ३५औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने क्रममा उनले राष्ट्रपति पुटिनसँग छुट्टै द्विपक्षीय भेट गरेका थिए। यही भेटमा उनले साइबेरियाको इर्कुट्स्क शहरमा थुनिएका फिलिपिनी नागरिकहरूको विषय उठाएका थिए।
ती नागरिकहरूलाई किन पक्राउ गरिएको थियो भन्नेबारे रूसले कुनै स्पष्ट आरोप लगाएको थिएन। फिलिपिन्स सरकारले उनीहरूको अवस्थाबारे पनि धेरै जानकारी पाएको थिएन। अधिकारीहरूका अनुसार तीमध्ये धेरैजना अवैध रोजगारीको प्रलोभनमा रूस पुगेका हुन सक्नेर आप्रवासनसम्बन्धी नियम उल्लङ्घन गरेको आशंकामा पक्राउ परेका हुन सक्ने अनुमान गरिएको थियो।
राष्ट्रपति मार्कोसका अनुसार राष्ट्रपति पुटिनले सुरुमा यस घटनाबारे आफूलाई जानकारी नभएको बताएका थिए। तर उनले तुरुन्तै विषयको अनुसन्धान गर्ने र समस्या समाधान गर्ने आश्वासन दिएका थिए। त्यसै दिन रातिको रात्रिभोजमा पुटिनले ती फिलिपिनी नागरिकमाथि कुनै आपराधिक आरोप नभएको जानकारी दिँदै, चिन्ता नगर्नुहोस्, हामी यो समस्या समाधान गर्ने उपाय निकाल्छौं,” भनेका थिए।
त्यसपछि रूसी अधिकारीहरूले फिलिपिन्सको प्रतिनिधिमण्डललाई ती सबै नागरिकलाई तत्काल स्वदेश फर्काइने जानकारी दिएका थिए। उनीहरूलाई निर्वासन (डिपोर्ट) गरेर फिलिपिन्स पठाउने निर्णय गरिएको हो।
हाल रूसभरि करिब १५ हजार फिलिपिनी नागरिक बसोबास तथा रोजगारी गर्दै आएका छन्। यो घटनाले कठिन अवस्थामा परेका आफ्ना नागरिकको सुरक्षाका लागि कूटनीतिक संवाद र सहकार्य कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
फिलिपिन्स सरकारले स्वदेश फर्किने सबै नागरिकलाई आवश्यक स्वास्थ्य, कानुनी र पुनःस्थापना सहयोग उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया