
विश्वका शक्तिशाली देशहरूको बैठक जी-७ सम्मेलन सकिए लगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीबीच सामाजिक सञ्जालमा भनाभन सुरु भएको छ । झगडाको मुख्य जड एउटा तस्बिर हो ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मेलोनीले आफूसँग तस्बिर खिच्नका लागि “बारम्बार बिन्ती गरेको” दाबी गरे । तर, मेलोनीले यस कुरालाई पूर्ण रूपमा ‘झुटो’ र बनावटी भनेकी छिन् ।
ट्रम्प यत्तिमै रोकिएनन् । उनले इटालीले इरानविरुद्धको सैन्य मामिलामा अमेरिकालाई साथ नदिएको भन्दै मेलोनीको आलोचना गरे । ट्रम्पका अनुसार, इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने अमेरिकाको प्रयासमा इटालीले आफ्ना धावनमार्ग समेत प्रयोग गर्न दिएन । उनले थपे, “अमेरिकाले इटाली र नेटोका सहयोगी देशहरूको सुरक्षाका लागि हरेक वर्ष अर्बौँ डलर खर्च गर्छ, तर इटालीले सहयोग गरेन । सायद यही कारणले गर्दा मेलोनीको लोकप्रियता इटालीमा घट्दै गएको छ ।”
यसको जवाफमा प्रधानमन्त्री मेलोनीले ट्रम्पको आलोचनालाई “विनाकारण र अर्थहीन” भनेकी छिन् । उनले अङ्ग्रेजीमा लेखिन्, “मेरो लोकप्रियता तपाईको चिन्ताको विषय होइन, तपाई आफ्नो लोकप्रियतामा ध्यान दिनुहोस् । तपाईको साथी बन्दा मलाई कुनै फाइदा भएको छैन । मेरो लोकप्रियता देशको हितको रक्षा गर्ने मेरो क्षमतामा निर्भर गर्छ र मैले सधैँ त्यही गरेकी छु ।” उनले कडा शब्दमा भनिन्, “म र इटाली कसैसँग कहिल्यै भिख माग्दैनौँ ।”
यो विवादले इटालीको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । ट्रम्पको यस्तो टिप्पणीबाट आक्रोशित हुँदै इटालीका उपप्रधानमन्त्री एवं विदेशमन्त्री एन्टोनियो तायानीले आफ्नो तय भइसकेको अमेरिका भ्रमण रद्द गरेका छन् । उनले भने, “ट्रम्पको आपत्तिजनक शब्दले सिङ्गो इटालीको अपमान गरेको छ । अमेरिकालाई यसरी इटालीको अपमान गर्ने कुनै अधिकार छैन ।”
इटालीका अन्य विपक्षी नेताहरूले पनि राजनीतिक मतभेद बिर्सेर आफ्नो देशको स्वाभिमानका लागि प्रधानमन्त्री मेलोनीलाई साथ दिएका छन् । उनीहरूले अमेरिकाको अगाडि धेरै झुक्नुको परिणाम राम्रो नहुने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया