लामो समयपछि अमेरिकी उपभोक्तालाई खुसीको खबर: इन्धनको भाउ प्रति ग्यालन ४ डलर मुनी 

इनेप्लिज २०८३ असार ४ गते १६:५४ मा प्रकाशित

अमेरिकामा पेट्रोलको मूल्य झण्डै तीन महिनापछि पहिलो पटक प्रति ग्यालन ४ डलरभन्दा तल ओर्लिएको छ। इरानमा युद्ध सुरु भएपछि संसारभर कच्चा तेलको मूल्य ह्वात्तै बढेको थियो, जसले गर्दा पेट्रोल ( इन्धन)निकै महँगो भएको थियो।

ट्रिपल-एका अनुसार बिहीबार राष्ट्रिय औसत पेट्रोलको मूल्य घटेर ३.९९ डलर पुगेको छ। यो गत मार्च ३० यताकै सबैभन्दा कम मूल्य हो। 

युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा अझै पनि पेट्रोलको मूल्य १ डलरभन्दा बढी नै छ, तर पछिल्ला हप्ताहरूमा यसमा केही कमी आएको छ।

 अमेरिका र इरानबीच युद्ध अन्त्य गर्नका लागि प्रारम्भिक सहमति हुने सम्भावना बढेपछि तेलको मूल्य घट्न थालेको हो।

दुई देशबीच युद्ध रोक्ने विषयमा भएको प्रारम्भिक सम्झौता सँगै अब हर्मुज जलडमरु नामको महत्त्वपूर्ण समुद्री मार्ग पुनः खुलेको छ। 

यो यस्तो बाटो हो, जहाँबाट संसारको कुल तेल आपूर्तिको पाँचौँ भाग (२० प्रतिशत) ओसारपसार हुन्छ। गत फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो बाटो पूर्ण रूपमा बन्द जस्तै थियो, जसका कारण विश्वभर तेलको संकट पैदा भएको थियो।

बुधबार राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेपछि त्यो समुद्री बाटो हुँदै व्यापारिक जहाजहरू चल्न थालिसकेका छन्। 

यो सकारात्मक परिवर्तनसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि क्रमशः ओरालो लागिरहेको छ, जसले विश्व बजारलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया